प्रयोग भइरहेका र प्रयोगको अन्तिम चरणमा कोरोना भाइरसविरुद्धका यी सात औषधि

एजेन्सी । कोरोना भाइरसविरुद्ध अहिलेसम्म यहीँ औषधि प्रयोग हुन्छ भन्ने टुंगो छैन । तर वैज्ञानिकहरुले विभिन्न प्रकारका प्रयोग गरेर कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा ल्याइरहेका छन् । विश्वकै महाशक्ति अमेरिका पनि कोरोना भाइरससामू घुँडा टेकेको छ ।

संसारका विभिन्न ठाउँमा अहिले ७५ प्रकारका परीक्षणहरु चलिरहेका अमेरिकी अनलाइन पत्रिका बोरोन्सले जनाएको छ । अहिलेसम्म ७ प्रकारका औषधि र प्रयोग गरिएको छ । यी औषधिबाटै कोरोना भाइरसविरुद्ध नयाँ औषधिको बिकास हुनेमा वैज्ञानिकहरु ढुक्क छन् ।
कोरोना संक्रमितको सम्भावित सफल उपचारमा तल उल्लेखित औषधिको प्रयोग भइरहेको छ । केही प्रयोगमा ल्याइएको छ भने केही औषधि प्रयोगको अन्तिम चरणमा रहेका छन् ।
  • रेमिडिसिभर (Remdesivir)

गिलिड नामक बायोफर्मास्युटिकल कम्पनीको रेमिडिसिभर नामक यो औषधिको प्रयोग कोरोना भाइरस संक्रमणविरुद्ध गरिएको छ । सन् २०१४ देखि २०१६ सम्म अफ्रिकामा फैलिएको प्राणघातक इबोला भाइरसका बिरामीको उपचारमा प्रयोग गरिएको एन्टी भाइरल औषधिको रुपमा यसलाई लिने गरिन्छ।

हालसम्म कोरोना संक्रमितको उपचारमा प्रयोग गरिएका दर्जनौँ प्रयोगमध्ये रेमिडिसिभरको प्रयोग अग्रस्थानमा देखिएको छ । गिलिडको यो प्रयोग हाल परीक्षणको तेश्रो चरणमा रहेको मिल्केन ईन्स्टिच्युटले जनाएको छ ।

रेमिडिसिभर प्रयोगको परीक्षण उपचारको निष्कर्ष भने अप्रिल अन्तिमसम्म आउने अपेक्षा गरिएको छ । यो औषधिको क्लिनिकल ट्रायल भने चीन तथा अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्कामा भइरहेको छ ।

रेमिडिसिभरको परीक्षणको नतिजा सकरात्मक आएमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिलाई बचाउन र उपचार गर्न नसाबाट औषधि दिइनेछ ।

  • क्लोरोक्वीन तथा हाइड्रोक्सीक्लोरोक्वीन (Chloroquine and Hydroxychloroquine)

यो औषधि मलेरियाका बिरामीको उपचारमा प्रयोग गरिने औषधि हुन् । अमेरिकास्थित एफडिएले यी दुई औषधिलाई यसै हप्तादेखि अस्थायी रुपमा कोभिड-१९ को उपचारको लागि परीक्षणको रुपमा प्रयोग गर्न अनुमति दिएको छ ।

गएको मार्च ३० को दिन क्लोरोक्वीन तथा हाइड्रोक्सीक्लोरोक्वीन सल्फेटलाई कोरोना संक्रमणका कारण अस्पतालमा उपचार गराइरहेका युवा तथा बृद्धबृद्धाको उपचारको लागि प्रयोग गर्ने अनुमति एफडिएले दिए पनि यी दुई औषधि आँफै वा अन्य औषधिसँग मिसाएर प्रयोग गर्ने दर्जनौ क्लिनिकल ट्रायलहरु भने परीक्षण कै क्रममा छन् ।

मलेरियाको उपचार गर्ने यी दुई औषधि अहिले मानव शरिरमा प्रयोग गरेर अनुसन्धान गरिरहेको अनलाइनले जनाएको छ ।

  • केभजारा (Kevzara)

आर्थराइटिस्को उपचारको लागि प्रयोग गरिने केभजारा नामक यो औषधि पनि कोभिड-१९ का सिकिस्त बिरामीमा परीक्षण सुरु गरिएको छ । हालसम्म यो औषधि दुईवटा फरक-फरक चरणमा परीक्षण गरिसकिएको छ ।

यो औषधिले कोभिड–१९ का बिरामीको फोक्सो समेत सुन्निएर मृत्‍यु हुने खतराको अवस्थामा त्यस्ता बिरामीको सुन्निएको फोक्सोलाई नर्मल गराउन मद्दत गर्दछ ।

  • एक्टेमरा (Actemra)

एक्टेमरा पनि साधारण अवस्थामा आर्थराइटिस्का बिरामीको उपचारमा प्रयोग गरिने औषधि हो । एक्टेमरालाई पनि कोरोना संक्रमित बिरामीलाई प्रयोग गरेर अनुसन्धान थालिएको छ ।

यो औषधिलाई चिनियाँ स्वास्थ्य अधिकारीहरुले कोभिड-१९ को उपचारमा प्रयोग गर्न सिफारिस गरेका हुन् ।

एक्टेमरा पनि केभजारा जस्तै आर्थराइटिस्को औषधि भए पनि चीनले एक्टेमरालाई भने कोभिड-१९ का कारण निमोनिया भएका बिरामीमा प्रयोग गर्न सिफारिस गरेको छ।

हाल मानव शरीरमा परीक्षणको चरणमा रहेको एक्टेमरा स्विस मल्टीनेसनल हेल्थ केयर कम्पनीले बिक्री बितरण गर्दै आएको छ ।

  • कलेट्रा (Kaletra)

कलेट्रा सन् २००० मा एफडिएद्वारा एड्सका बिरामीको उपचारका लागि मान्यता पाएको एड्सको औषधि हो । अन्य दुईवटा एन्टीभाइरल औषधि लोपिनाभिर र रिटोनाभिरको संयोजन गरेर कलेट्रा बनाइएको हो ।

कलेट्रा प्रयोग गरेर कोभिड-१९ को उपचार गर्ने बिधि पनि हालसम्म मानव परीक्षणकै चरणमा छ । तर पूर्ण मान्यता प्राप्त गरेको भने छैन ।

  • फाभिलाभिर (Favilavir)

यो औषधिलाई नेसनल मेडिकल प्रोडक्ट्स एड्मिनिस्ट्रेसन अफ चाईनाले कोरोनाको एन्टी भाईरल औषधिको रुपमा प्रयोग गर्न स्वीकृति दिएको हो ।

फाभिलाभिर हाल इन्फ्लुएन्जाको उपचारमा प्रयोग गरिने गरिन्छ । जापानमा एभिगनको नामबाट यस्को प्रयोग इन्फ्लुएन्जा बिरामीको उपचारमा प्रयोग गरिन्छ ।

चीनको सेन्जेन गुङडोन प्रोभिन्सका ७० जना कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिएको यो औषधिको न्युन साइड इफेक्ट्स रहेको छ ।

  • रिजेनेरोन एन्टीबडी (Regeneron antibody)

शरीरको प्रतिरक्षा प्रणालीले भाइरसलाई जितेर निर्माण हुने तत्वलाई एन्टिबडी भनिन्छ। हाल विश्वभरका दर्जनौँ कम्पनीहरु कोरोना भाइरसलाई निस्क्रिय गराउने त्यस्ता एन्टीबडीहरुको पहिचान गरी तिनै एन्टिबडीको प्रयोगबाट औषधि बनाउने अभियानमा जुटेका छन् ।

यही पद्दतीमार्फत वैज्ञानिकहरुलाई प्राणघातक इबोलाको औषधि बनाउने सफलता मिलेको थियो । इबोलाको औषधि बनाउने सफलता हासिल गरेको रिजेनेरोनले अहिले पनि कोरोनासँग जित हासिल गरेको थुप्रै एन्टिबडीहरु पहिचान गर्न सफल भएको जनाएको छ ।

निकट भविष्यमा दुईवटा एन्टिबडीको मिश्रण गरी ककटेल ट्रिट्मेन्टको प्रयोग गरिने समेत रिजेनेरोनले जनाएको छ । यही अप्रिलदेखि एन्टिबडी निर्माण गरी केही महिनाभित्रै क्लिनिकल ट्रायलमा जाने समेत रिजेनेरोनले जनाएको छ । copy by.. nagarikkhabar