नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्यो

काठमाडौं। नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक जनामा कोरोना संक्रमण देखिएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा बिहीबार उक्त संक्रमित फेला परेको हुन्। यससहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ पुगेको छ।  बिहीबार फेला परेका कोरोना संक्रमित बिरामी दोहाबाट आएको कतार एयरलाइन्सको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका हुन्।

चैत ४ गते नेपाल आएको कतार एयरवेजको विमानमा उनीहरु आएका थिए। यसअघि पनि यही फ्लाइटबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु सबैको उपचार जारी छ। यो विमानमा १ सय ५८ जना यात्रु थिए। तीमध्ये अहिलेसम्म १ सय ४० जनाको मात्र ट्र्याकिङ भएको छ।

पछिल्लो पटक पहिचान भएका संक्रमितलाई ट्रेसिङ गर्ने चिकित्सक र टोलीलाई यसबारे डिटेल जानकारी छ। ‘उहाँहरुले केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य सुरु गरिसकिएको अवस्था छ,’ मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘यो केसबारे अरु डिटेल छैन। पछि जानकारी गराउनेछौं।’

उनले सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा बिरामीहरु भर्ना भएका छन्। ‘हालै ४३ वटा जनाको कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाहरुमा परीक्षणको क्रममा रहेको छ,’ उनले भने, ‘१०५ वटा आइसोलेसन बेड छुट्याएको छ जसमा काठमाडौ उपत्यकका १६  र उपत्यकका बाहिर ८९ आइसोलेसन रहेको छ।’

२४ घण्टामा दुई हजार ७ सय ५९ जनाको मन्त्रालयको दुई कल सेन्टर १११५ र ११३३ मा आएको गुनासो सम्बोधन गरेको उनले जानकारी दिए। उनले भने,  ‘सो कल सेन्टरमा अस्पताल सीमा क्षेत्रमा रहेका नेपालीहरुको अवस्था रहेको बारेमा सोधिएको छ।’