प्रिय “लकडाउन” तिमीलाई प्रेम पत्र

प्रिय लक- डाउन
प्रिय लकडाउन, हामी यहाँ निको आराम छौं, त्यहाँ तिम्रो कोमलरुपी शरीरमा पनि निको आरामै होला भन्ने उही दयालु भगवान श्री पशुपतिनाथ संग प्रार्थना गरिरहेका छौं ।
प्रिय लकडाउन, तिमी सुरुमा त एक्कासी आयौ, अहो ! हामी त निकै डराएका थियौं नी, आत्तियौं पनि अनि घर भित्रै लुकेर बस्न बाध्य भयौं । सुरुमा तिमीलाई देखेर अनि तिम्रो व्यवहार देखेर अलि-अलि रिस पनि उठ्यो, तिमीसँग झगडा गर्न मन पनि लाग्यो । हाम्रो स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकार माथी धावा बोल्ने तिमी को हौ भन्न मन पनि लाग्यो। तिमीले भनेको नमानी अटेर गरी स्वतन्त्र रूपमा आफूखुशी बाहिर हिंड-डुल गर्न पनि मन लाग्यो। तर पछि मात्र बस्तुगत संवेदनशीलता तथा तिम्रो कठोर मेहनत अनि त्यागलाई बुझ्यौं। मानौं ठूलो हावाहुरी सहित हिमपात भैरहेको बेलामा एउटी आमा माउ-चरीले जसरी आफ्ना स-सान चल्लाहरुलाई न्यानु बनाई बचाइ राख्न पखेटा भित्र छोपेर राख्छे त्यसैगरी तिमीले पनि हामी सबैलाई यो प्राण-घातक कोरोना भाइरसको महामारीबाट जोगाउने प्रायास गरेका रहेछौ ।

प्रिय लक-डाउन,

तिमी ढुक्क हुनु हामीले २०/२५ सेकेन्ड लगाएर साबुनपानीले दिनमा कम्तिमा पनि १०/१५ पटक हात धुने गरेका छौं । हिजोबाट त हामीले दिनमा एकपटक तातो पानीको बाफ पनि लिन थालेका छौं । हाम्रो चकचके र छटपटे आनीबानी देखेर तिमी निकै चिन्तित छौ भन्ने खबर पाएका थियौं । चिन्ता नलिनु, तिमीले भने बमोजिम अत्यावश्यक काम बाहेक बाहिर निस्केका छैनौं। यदि निस्किन पर्ने अति जरुरी काम देखिएको अवस्थामा मुखमा सुरक्षित माक्स लगाएर तथा हातमा पञ्जा लगाएर अरु मान्छे सँग कम्तीमा एक मिटरको दूरी बनाएर हिड्ने गरेका छौं । तिमीलाई थाहा छ हामी बाहिरबाट आएपछि कसैलाई नछोइकन राम्रोसँग साबुन पानीले हात मुख धोएर मात्र घर भित्र प्रवेश गर्ने गरेका छौं। तिमीलाई थाहा छ हामीले आजकल फ्रिजमा राखेका खानेकुरा खाँदैनौं। चिसो पानी अनि चिसा खानेकुरा त मनपर्न छाडिसके नी ।

प्रिय लक-डाउन,

सबै मान्छेहरुले तिमीलाई गाली गरेको अनि तिमी संग रिसाएको देखेर हामीलाई कस्तो नमिठो लाग्छ नी। घर परिवारलाई समय दिन, घरमा बसिबसी पाठ्य पुस्तक र नोबेल पढ्न, आफुलाई मनपर्ने परिकार बनाएर खान, सामाजिक सञ्जाल मार्फत आत्मीय सम्बन्ध विस्तार गर्न, करेसाबारीमा काम गरेर मिठा-मिठा तरकारी-फलफूल उत्पादन गर्न, वृद्ध-वृद्धा बाबु-आमाको हेरचाह गर्न, बाल-बच्चा परिवारसँग नाचगान र रमाइलो गर्न, नयाँनयाँ योजना परियोजना हरूको परिकल्पना गर्न, गित र गजल, संगीत तथा साहित्यिक कोसेलीहरुको रचना गर्न, कसले रोकेको (लक-डाउन)  छ होइन त ?

प्रिय लक-डाउन,

हाम्रा केही गुनासाहरु ठुला मान्छेहरुलाई सुनाईदिनु ल। बिचारा ति दिनभरि काम गरेर बेलुका आफ्ना बाल-बच्चाहरुको छाक टार्ने मजदुरहरूको अवस्था के भयो होला ? भारतीय नाकामा रोकिएका ती हजारौं हाम्रा नागरिक हरुको अवस्था कति कठिन भैरहेको होला ? यस्तो अवस्थामा पनि महंगी बढाएर तथा कालाबजारी गर्नेलाई कसले रोक्छ अनि दण्डित गर्छ होलार ? धमिलो पानीमा माछा मार्न पल्केका यस्तो बेलामा पनि निर्लज्ज करोडौं कमिसन कुम्ल्याउने हरुलाई कसले रोक्छ अनि दण्डित गर्छ होला ?

प्रिय लक-डाउन,

चिन्ता नलेउ बिस्तारै सबैले तिम्रो त्याग र योगदानलाई बुझ्नेछन् अनि प्रशंसा गर्नेछन् । यो महामारीबाट जोगाउन कठोर बन्नुपर्छ बुझ्यौ, हरेक नाका-नाकामा गएर बिदेशीहरुलाई रोक्नुपर्छ, कुकुर झैँ लखर लखर हिड्नेलाई ठोक्नु पर्छ, यहाँ भिजिलान्ते घुसखोरी कसैलाई छोड्नु हुन्न है, तिमीलाई थाहा छ हामी त गरिव देशका गरिव जनता हौं, न त यहाँ युरोप र अमेरिका जस्तो आधुनिक स्वास्थ्य उपचार पद्धति छ, न त हामीमा प्रसस्त खर्च गर्नसक्ने क्षमता नै छ। त्यसैले यो नोवेल कोरोना को महा विपत्ति अर्थात महा कालबाट हामी सबैलाई सुरक्षित राखी यो महा संकटबाट बचाउन प्रयासरत तिमीलाई हामी आम नागरिकको तर्फबाट खरबौ-खरब धन्यवाद साथै हामी सबैको आशीर्वाद माया अनि सम्मान सदैव रहनेछ। हामीलाई पूर्ण आशा तथा भरोसा छ तिमीले हामीलाई बचाउने छौं अनि हामी पहिले जस्तै हाँस्ने हँसाउने, नाच्ने नचाउने अनि हामी सबै संग-संगै रम्ने रमाउने छौं।
तिम्रा उहि आशावादी
आम नेपाली

Writer

Mr. Tara Prasad Adhikari

Educational Researcher and Trainer

Educators Foundation Nepal

Tara Adhikari <taraadhikari973@gmail.com>