चितवनको कोरोना अस्पतालमा उपचार नै नपाई बिरामीको मृत्यु !

सुवास पण्डित, चितवन । चीनबाट सुरु भएको कोरोना भाइरस (काेभिड-१९) युरोपमा फैलिन थालेपछि नेपालका सरकारी निकायहरु तात्न थालेका छन् । चीनले केही घण्टामै कोरोना अस्पताल बनाएको चर्चा सुनेका स्थानीय सरकारहरुले त्यस्तै अस्पताल बनाउन थाले ।

त्यसको सुरुवात चितवनको भरतपुर महानगरपालिकाले गर्‍यो । ७२ घण्टा भित्र अस्थायी अस्पताल बनाउने भन्दै काम थालेको महानगरपालिकाले भरतपुरको प्रदर्शनी केन्द्रमा हतार–हतार एउटा संरचना बनायो र ७ चैतमा ओपीडी सेवा सुरु गर्‍यो ।

त्यसको सिकोमा प्रदेश सरकार र स्थानीय सरकारहरुले बिना मापदण्डका अस्थायी अस्पतालहरुमा बिरामी राख्न थाले । चालू अस्पताललाई डेडिकेटड बनाउनुपर्ने चिकित्सकहरुको सल्लाह विपरित छुट्टै कोरोना अस्पताल बनाउने होड चल्न थाल्यो ।

त्यस्ता अस्थायी संरचनाहरु बनेपछि अस्पतालहरुले ज्वरो, रुघाखोकी, निमोनियाका बिरामीलाई पनि कोरोना संक्रमणको आशंका गर्दै जाँचै नगरी त्यता पठाउन थाले । सरकारले ५० वा सोभन्दा बढी शैय्याका हरेक अस्पताललाई ज्वरो क्लिनिक खोल्न र आइसोलेसन वार्ड बनाउन भनेपनि कसैले टेरेनन् । अस्पतालहरुले धमाधम रिफर गर्न थाले र अन्य कारणले ज्वरो आएका बिरामी न्यून पूर्वाधार र जनशक्ति भएका कोरोना अस्पतालमा थन्किन बाध्य बने ।

‘कोरोना अस्पताल’हरुले थ्रोट स्वाब निकालेर परीक्षणको नतिजा नआउन्जेल कोरोनाकै उपचार विधि अपनाए । क्रिटिकल केयरमा राख्नुपर्ने बिरामीहरुलाई आईसीयू र दक्ष चिकित्सक नभएका कमचलाउ बेडमा राखेर उपचार गरियो । यही अवस्थाका बीच ‘कोरोना अस्पताल’हरुमा तीन जना बिरामीले ज्यान गुमाए ।

स्वाब परीक्षणको नतिजाले उनीहरुमा कोरोनाको संक्रमण नभएको देखाएपछि यस्ता अस्थायी अस्पताल पठाएर मर्न बाध्य पारिएको भन्ने आवाज उठ्न थालेको छ । सँगै, यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न खडा भएको छ ।

भरतपुरको पाठ

आठ महिनादेखि मिर्गौला रोगको उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका–२२ का सन्तोष यादवलाई एक्कासी ज्वरो र सुख्खा खोकीले ग्रस्त पार्‍यो । चैत ९ गते फलोअपका लागि भरतपुरको चितवन मेडिकल कलेज पुगे ।

तर, अस्पतालले कोरोना संक्रमण भएको हुनसक्ने भन्दै नयाँ कोरोना अस्पतालमा रिफर गरियो । लथालिंग ‘कोरोना अस्पताल’ले यादवको नाम दर्ता गरेर भर्ना नगरी पुनः चितवन मेडिकल कलेज फिर्ता गरिदियो । परिवारजनले राति ९ बजे फर्काएका यादवलाई मेडिकल कलेजले इमर्जेन्सीमा त राख्यो तर उपचार गरेन । मेडिकल कलेजका डाक्टरको अनुरोधमा उनलाई फेरि १० बजे उठाएर ‘कोरोना अस्पताल’ लगेर भर्ना गरियो । जटिल स्वास्थ्य अवस्थाका उनले त्यसलगत्तै बान्ता गरे । त्यसपछि अस्पतालले खोकी र बान्ता रोकिने औषधि दिएको परिवारका सदस्यहरु बताउँछन् ।

त्यो रात यादव र उनको परिवारको छट्पटी देखेकी एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने शर्तमा अनलाइनखबरलाई भनिन्, ‘बिरामी छट्पटाइरहेका थिए, जहान परिवार रोइरहेका थिए । उनीहरुले मृगौलाको समस्या छ, डायलासिस गर्न काठमाडौं लैजान्छौं पनि भने, तर कोरोना हुनसक्ने डरले लैजाने अनुमति पाएनन् ।’

मृगौलाका गम्भीर बिरामी यादवको थ्रोट स्वाब पनि भोलिपल्ट १० गते अपराह्न चार बजे मात्र लिइयो । कति बेला स्वाब लिन्छन् भनेर पर्खँदापर्खिँदै काठमाडौं लैजान जहाज पनि छुट्यो । ११ गतेबाट त लकडाउन नै सुरु भयो ।

११ गते बिहान ८ बजे स्वाब काठमाडौं पठाएको गाडी मुग्लिन पुग्दा नपुग्दै यादवले धरती छाडे ।

कोरोना परीक्षणको रिर्पोट नआएको भन्दै शव उठाइएन । चिकित्सकहरुले मृत्युको कारण कोरोना भाइरस नै भएको अड्कलबाजी गरेका दिनभर शव अस्पतालमा नै राखे । रिर्पोट ‘नेगेटिभ’ आएपछि चिकित्सकले सन्तोषको सास त फेरे । तर, भरतपुरको यो घटनाले प्रश्न उब्जाएको छ, ‘कोरोनाको आशंकामा थुनुवा बनाएर राख्ने अनि बिरामी त्यहीँ मनुपर्ने अवस्था सिर्जना भएको त हैन ?

यो घटनापछि भरतपुर कोरोना अस्पतालले क्रिटिकल केयर चाहिने बिरामी नलिने नीति लिएको जनाएको छ । कोरोना आशंका भएका बिरामीको लागि स्क्रिनिङ र आइसोलेसन सञ्चालन गर्ने, क्रिटिकल केयर दिनुपर्नेलाई भरतपुर अस्पताल पठाइने कोरोना अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले बताए ।

‘नयाँ सेटअप भएका अस्थायी अस्पतालमा क्रिटिकल केयर सम्भव छैन । त्यसका लागि चलिरहेको डेडिकेटेड अस्पताल नै चाहिन्छ भन्ने पाठ यो घटनाले सिकायो’, डा. अधिकारी भन्छन्, ‘यद्यपि अन्य अस्पतालमा हुने मृत्यु र नयाँ कोरोना अस्पतालमा अन्य कारणबाट भएको मृत्युलाई फरक ढंगले अथ्र्याउनु हुँदैन ।’

पर्याप्त उपकरणहरु नभएको भरतपुर कोरोना विशेष अस्पताल आइसोलेसन वार्ड जस्तो छ । मुटु, मृगौला, कलेजो, निमोनिया, मधुमेह लगायतका दीर्घ रोगीलाई कोरोना भाइरसले पनि चाँडो प्रभावित पार्ने भएपनि उनीहरुको उपचार सुविधासम्पन्न स्थायी अस्पताल नै उपयुक्त हुने यो घट्नाले प्रष्ट पारेको छ ।

copy by,, onlinekhabar