
काठमाडौं, १६ चैत्र । आज साँझ ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले एक साताको लागि लगाईएको यसअघिको लकडाउन अवधि बढाउने भएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार यही चैत्र १८ गतेसम्मको लकडाउन दुई साता बढाउने तयारी छ । एक मन्त्रीले भने,”सरकारसँग लकडाउन लम्ब्याउनुको अर्को विकल्प छैन् ।”
यसअघिपनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि गठन भएको उच्चस्तरीय समन्वय समितिमा यसबारेमा छलफल भएको थियो । समितिका संयोजक ईश्वर पोखरेलले समेत लकडाउन अवधि बढ्न सक्ने कुरा पत्रकार ऋषि धमलासँग बताएका थिए । उनले सामाजिक दूरी कायम गर्नु नै उत्तम हुने सुझाउँदै लकडाउनको आदेश कार्यान्वयनमा सरकार कठोर भएर प्रस्तुत भएको समेत स्पष्ट पारेका थिए ।
भारतमा २१ दिनको लामो लकडाउन लगाईएको छ । कोरोनाको सम्भावित जोखिमबाट आफ्ना जनतालाई बचाउनको लागि आफूले यो कदम चालेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई थियो । file photo