कोरोना भाइरस: मृतकको संख्या १८ हजार नाघ्यो, संक्रमित ४ लाख भन्दा धेरै

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनको वुहानबाट फैलिएको रहस्यमयी घातक कोरोना भाइरसको प्रकोपका कारण मंगलबार रातीसम्म विश्वभर मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ। मंगलबार राती १२ बजेसम्म विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८ हजार २५९ पुगेको छ। मंगलबार १७५२ जनाको मृत्यु भएको छ। मंगलबार नयाँ संक्रमितको संख्या ३०११० पुग्दा जम्मा संक्रमितको संख्या ४०८८९२ पुगेको छ।

मंगलबार सबैभन्दा धेरै इटालीमा कोरोनाको कारण ज्यान गुमाएका छन्। मंगलबार त्यहाँ ७४३ जनाले कोरोनाका कारण मृत्यु वरण गरेका छन्। इटालीमा मृत्यु हुनेको संख्या ६८२० पुगेको छ। त्यहाँ नयाँ संक्रमित मंगलबार ५२४९ जना थपिएका छन्। इटालीमा हालसम्म ६९१७६ संक्रमित भएका छन्।

मंगलबार इटालीपछि सबैभन्दा धेरे अर्को युरोपेली मुलुक स्पेनमा मृत्यु भएको छ। मंगलबार स्पेनमा ४८९ जनाको मृत्यु हुँदा हालसम्म मृत्यु हुनेको संख्या २८०० पुगेके छ। त्यहाँ नयाँ संक्रमित ४५४० छन् भने भने जम्मा ३९६७६ जना संक्रमित भएका छन्।

कोरोना भाइरसको ग्राउण्ड जिरो चीनमा भने मंगलबार जम्मा ७ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ३२७७ पुगेको छ। चीनमा संक्रमितकको संख्या ८११७१ पुगेको छ।

हालसम्म विश्वभरबाट हालसम्म १ लाख ७ हजार ७३ जना उपचारपछि ठिक भएर अस्पतालबाट घर फर्किसकेका छन्।

कोरोना महामारीका कारण मंगलबार भारतले कोरोना कर्फ्यू घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनसम्म भारतभर लकडाउन घोषणा गरेका हुन्। नेपालमा सोमबारदेखि ७ दिने लकडाउन जारी छ।