भरतपुरमा ७२ घण्टामै कोरोना अस्पतालको सेवा सुरु, सामाजिक बिकास मन्त्री दुलालले गरे सेवा प्रारम्भको घोषणा

चितवन । चितवनको भरतपुरमा ७२ घण्टामै कोरोना विशेष अस्पताल निर्माण गरि सेवा सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा  अस्पताल तयार गरिएको हो ।

बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री युवराज दुलालको उपस्थितिमा अस्पतालको सेवा प्रारम्भ भएको घोषणा गरिएको थियो । सो अवसरमा मन्त्री दुलालले मानसिक मात्र नभई भौतिक रुपमा पनि नेपाली सक्षम रहेको पुष्ठि कोरोना अस्पताल निर्माणले देखाएको बताए ।

एकताले नै जस्तो सुकै चुनौती पार गर्न सकिने भन्दै मन्त्री दुलालले रोगबाट बच्न र बचाउन सबै सहयोग आवश्यक पर्नेमा जोड दिए ।  अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आएको छ  । महानगरपालिका मेयर रेनु दाहालले  सेवामा कती पनि कन्जुस्याइँ नगरिने भन्दै बिरामी र स्वास्थ्यकर्मीको सुरक्षामा महानगर गम्भिर रहेको बताइन ।

संघिय सरकारबाट सहयोग प्राप्त नभए महानगरले बिकास बजेट कटौती गरेर भए पनि स्वास्थ्यकर्मीलाई  सुबिधा उपलब्ध गराउने उनले बताइन ।  कोरोना नियन्त्रण कार्यदल चितवनका प्रबत्ता डाक्टर भोजराज अधिकारीका अनुसार  अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ ।

कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ ।

अस्पताल सञ्चालनका लागि जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक शैय्या ल्याइएको छ । प्रयोगशाला, रेडियोलोजीलगायतका सेवाका लागि निजी अस्पतालले सहयोग गरेका छन् ।

अस्पतालमा  १० शैय्याकाे सघन उपचारकक्ष र १० श्ययाको हाइ डिपेन्डेन्ट युनिट (एचडीयू) समेत सञ्चालन गरिने डाक्टर अधिकारीले बताए । अस्पतालको सेवा सुभारम्भ कार्यक्रममा प्रदेश सदस्यहरु बिजय सुवेदी,घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,भरतपुर महानगर उपप्रमुख पार्वती शाह लगायतको उपस्थिति रहेको थियो ।