कर्णालीमा भारी हिमपात, विमानस्थल बन्द (फोटो फिचर सहित)

जुम्ला ।  कर्णालीमा चैत लागिसक्दा पनि भारी हिमपात भएको छ । पछिल्लो दश बर्षमा यसरी चैत्रमहिनामा यहाँ हिउ परेको थिएन । यो बर्ष यसरी भारी मात्रामा हिउँ परेको यो १० औ पटक हो ।

चैत महिनामा हिउँपर्दा कर्णालीका किसान भने औधी खुसी र अच्चमीत छन् । प्राय खडेरी पर्ने चैत महिनामा भारी हिमपात हुँदा किसानलाई राहत भएको किसान विष्णु अधिकारीले बताउनु भयो । अहिले कर्णालीमा स्याउका बिरुवा काँटछाट गर्ने, नयाँ विरुवा रोप्ने, नयाँ बगैँचा व्यवस्थापन गर्नेक्रम चलिरहेको छ ।

‘सबै किसान नयाँ बगैँचा बनाउन पाखा बारीमा छन् । सिचाई नहुँदा निकै दुख हुन्थ्यो, अब चैते हिउँले स्याउका विरुवामा सिचाँई गर्न मदत पुग्ने भयो’ किसान पदम बुढाले भन्नुभयो । विज्ञहरुपनि चिस्यानका लागि चैत्र महिनामा परेको हिउँ किसानहरुका लागि वरदान सावित हुने बताउछन् । ‘स्याउका क्यारी अर्थात खाडल बनाएर हिउँका डल्ला राख्दा महिनादिनका लागि सिचाई गर्नै पर्दैन’ जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनु भयो ।

यसैबीच कर्णालीमा हिमपात भएसँगै यहाँको हवाई सेवा प्रवाहित बनेको छ । शुक्रबारदेखि मौसममा भएको खराबीका कारण कर्णालीमा हुने सबै उडान बन्द भएको हो । साविक कर्णाली प्रदेशको हुम्ला सिमिकोट, डोल्पाको जुफाल,मुगुको मुगु र जुम्लाको जुम्ला बिमानस्थल शुत्रबारदेखि बन्द भएका हुन् । शनिवार रातीदेखि कर्णालीमा भईरहेको हिमपातले गर्दा उडान ठप्प भएको जुम्ला विमानस्थका सूचना अधिकारी रिंकी मल्किले बतानुभयो ।

हवाई सेवा अबरुद हुँदा नेपालगन्ज एयरपोर्टमा सयौ यात्रु अलपत्र छन् । हुम्ला र डोल्पाबासीको यात्रा गर्ने एकमात्र माध्यम हवाई सेवा बन्दहुँदा जनजीवन निकै कष्टकर भएको हुम्लाका दाने बोहोराले बताउनुभयो ।
भारी हिमपातका कारण संचालनमा आएको हप्तादिन नबित्दै नाग्म गमगडी सडक समेत अबरुद भएको छ । साविक कर्णालीको पर्यटकीयमार्गका रुपमा चिनिने उक्त सडकको बुलबुलेहुँदै घुच्ची लेकमा बाक्लो हिउँ जमेको कारण यातायात बन्द भएको कनकासुन्दरी गाउँपालिकाका स्थानीय दिपेन्द्र उपाध्यायले जानकारी दिनुभयो । यता सडक डिभिजन जुम्लाका प्रमुख लिला बहादुर भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै सडक सूचारुका लागि हिउँ पन्छाउने काम गरिने बताउनुभयो । कर्णाली राजमार्गको जूम्ला खण्डमा पनि साना ठुला सवारी गुडेका छैनन् ।