चितवन कालिकाकी दुवै मृगौला फेल भएकी चरीमायालाई १ लाख १५ हजार आर्थिक सहयोग

चितवन । दुवै मृगौलाले काम नगरेपछि समस्यामा परेकी कालिका वडा नं. २ पदमपुर (खेखरीया टोल, कमलचोक) की चरीमाया महतोलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक अभावका कारण मृगौला प्रत्यारोपणका लागि समस्यामा परेकी महतोलाई १ लाख १५ हजार ६ सय रुपैया सहयोग गरिएको हो । कालिका वडा नं. ६ बुद्धज्योती टोल विकास संस्थाका दावा दोर्जे मोक्तान, बुद्धिमाया तमाङ, पञ्चमाया घिसिङ लगायतको पहलमा संकलित सो रकम एक कार्यक्रमका बिच मृगौला रोगी महतोलाई हस्तान्तरण गरिएको हो । उनको मृगौला प्रत्यारोपण गर्न करिव १५ लाख रुपैया लाग्ने भएपनि आर्थिक अभावका कारण उनले मृगौला प्रत्यारोपण गर्न सकेकी छैनन् ।

दुवै मृगौला फेल भएकी चरीमायाको बिलौना, सहयोग पाए बाँच्ने थिए

शिशिर सिंखडा, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. २ कमलचोक, खेखरीया टोलकी चरीमाया महतोको दुवै मृगौलाले काम नगर्ने भएको ५ वर्ष पुरा भयो । ४७ वर्षीय चरीमायाले आर्थिक अभावका कारण मृगौला फेर्न सकेकी छैनन् । श्रीमान्ले एउटा मृगौला दिने घर सल्लाह भएपनि आर्थिक अभावका कारण मृगौला फेर्न नसकेको उनले बताइन् ।

मृगौला प्रत्यारोपण गर्न १५ लाख भन्दा बढी रकम लाग्ने भएकोले आफू समस्यामा परेको उनले बताइन् । लामो समयदेखि चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी उनले हरेक हप्ताको २ पटक डायलोसिस गर्नुपर्दछ भने हरेक हप्ता रगत समेत दिनुपर्ने हुन्छ । डायलोसिस निशुल्क भएपनि त्यसमा लाग्ने औषधी एकपटकमा ३ हजार भन्दा बढी लाग्ने उनले बताइन् ।

सुकुम्वासी परिवारकी चरीमायाले रकम जुटाउन नसक्दा आफू जीवनमरणको दोसाधमा पुगेको बताइन् । भएको १० धुर जग्गामा सानो झुप्रो घर बनाएर बसेका महतो परिवार ज्याला मजदुरी गरेर गुजारा टार्दै आएका थिए । उनको उपचारमा समस्या भएकोले सहयोगीदाताले सहयोग गरिदिनुुहुन परिवारजनले देश तथा विदेशमा रहने सबैसँग अपील गरेका छन् । चरीमायाकी बुहारी जानकी महतोले सहयोगीदाताहरुलाई सहयोगको लागि अनुरोध गर्दै मोवाइल नं. ९८०९१६४५३१ मा सम्पर्क गरी सहयोग जुटाइदिन आग्रह गरेकी छन् ।

https://www.kalikadainik.com/2020/01/29/9798/
दुवै मृगौला फेल भएकी चरीमायाको बिलौना, सहयोग पाए बाँच्ने थिए