चीनमा फैलिएको कोरोनाको कारक अमेरिकी सेना : चिनियाँँ विदेश प्रवक्ता

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले चीनमा कोरोना भाइरस (कोभिड १९) फैलनुको कारक अमेरिकी सेना भएको आरोप लगाएका छन् ।

प्रवक्ता चाओ लिचियानले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आरोप लगाएका हुन् ।

शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताएका छन् । वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको बताए ।

उनले लेखेका छन्, ‘अमेरिका बिरामी शून्य अवस्थामा कहिलेदेखि थियो ? कति संक्रमित छन्, ती अस्पतालका नामहरु के हुन् ? सम्भवतः तिनै अमेरिकी सेना हुनसक्छन्, जसले वुहानमा कोरोना भाइरस ल्याए। पारदर्शी होऊ, तथ्यहरु सार्वजनिक गर, हामीलाई विस्तृत जानकारी चाहियो।’  

यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको बताइएको छ ।

चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरस पाइएको थियो । अहिले यसको संक्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि करिव ५ हजारको हाराहारीमा पुगिसकेको छ ।