कर बक्यौता नराखौं, नत्र जायजेथा जाला

चितवन। आन्तरिक राजस्व कार्यालय, भरतपुरले यस आर्थिक वर्ष २०७६÷०७७ मा ४३ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
चालु आ.व.को गत माघ महिनासम्म आयकर एक अर्ब ४९ करोड ४५ लाख, बहालकर तीन करोड ९५ लाख, ब्याजकर ११ करोड २० लाख, मूल्य अभिवृद्धि कर एक अर्ब ३१ करोड ७२ लाख, अन्तःशुल्क १३ अर्ब ७४ करोड ७१ लाख, स्वास्थ्य सेवा कर एक करोड एकलाख संकलन भइसकेको आन्तरिक राजस्व कार्यालय भरतपुरले जनायो । कार्यालयका सूचना अधिकारी कर अधिकृत कपिलराज नेपालका अनुसार गत वर्ष ०७५÷७६ मा ३० अर्ब एक करोड ३६ लाख ५३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ३० अर्ब ३५ करोड २३ लाख १९ हजार असुली भएको थियो ।
पछिल्लो समय करदाता बढ्नु, कारोबार बढ्नु, मूल्य वृद्धि, करको दायरामा वृद्धि, मानिसहरुमा कर तिर्नुपर्ने भावना बढ्दै जानु तथा कर सहभागितामा वृद्धि हुनुको कारण राजस्व संकलन पनि बढेको सूचना अधिकारी कपिलराज बताउँछन् । तर कार्यालयले उठाउनुपर्ने बक्यौता पनि छ । २०७६ माघ १६ सम्म आयकरतर्फ २५ करोड ५६ लाख ५३ हजार चारसय २६ र मूल्य अभिवृद्धि करतर्फ २६ करोड ७० लाख ७३ हजार पाँचसय ४४ रुपैयाँ बक्यौता रहेको जनाउँदै आन्तरिक राजस्व कार्यालय भरतपुरले बक्यौता असुली प्रक्रिया चलिरहेको बताएको छ ।
‘नयाँ करदाताको बक्यौता रहनै दिँदैनौं । कर चुक्ता प्रमाणपत्र बनाउँदा असुली गरेर मात्रै जारी गर्छाैं’, आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत सुबप्रसाद रिजालले भने । पुरानो बक्यौता भएका कतिपय सम्पर्कमै नरहेको उनले बताए । बक्यौता उठाउन वर्षको एकपटक सार्वजनिक सूचना जारी गरिने बताउँदै उनले भने, ‘सूचना हेरेर पनि कोही भुक्तानी दिन आउँछन् ।’


त्यति गर्दा पनि नभए कानुनी कारबाही अगाडि बढाइन्छ, जसअन्तर्गत फर्मको बैंकखाता रोक्का गर्ने, फर्मको मात्र नभई प्रोप्राइटरको पर्सनल बैंक खाता पनि रोक्का गर्ने । त्यसपछि पनि कोही बक्यौता तिर्न आउँछन् । त्यति गर्दा पनि नभए कारोबारको आयात–निर्यात रोक्कादेखि मालपोतमा चिठी लेखेर व्यक्तिगत घर–जग्गासमेत रोक्का गरिन्छ । विदेश जान रोक लगाइन्छ । अन्य आयस्रोतको खोजी गरिन्छ । बैंक ब्यालेन्सबाट र सरकारी भुक्तानी लिने छ भने त्यसबाट पनि असुल उपर गरिन्छ । हैसियत भइभइ नतिर्ने धेरै कम हुन्छन् तर फर्म टाट पल्टिसकेकोसमेत घर–जग्गा लिलामी गरेर भएपनि बक्यौता असुल उपर गर्ने प्रावधान छ । कानुनको दफामा टेकेर असुल उपर गर्ने उपाय खोज्छौं – प्रमुख कर अधिकृत रिजालले भने । – अजय गोर्खाली