नेकपा भरतपुरलाई जनता र प्रविधिसँग जोड्छौं – रामप्रसाद न्यौपाने अध्यक्ष, भरतपुर महानगर कमिटी

चितवनको समकालिन राजनीतिमा युवा नेता रामप्रसाद न्यौपाने लोकप्रिय मानिन्छन् । युवालाई संगठित गर्ने, विचार दिने, एक्सनमा गई हाल्ने उनको स्वभाव देखिन्छ । लामो समय विद्यार्थी राजनीति गरेर संगठनात्मक संरचना र पद्धतिमा अभ्यस्त बनेका नेता न्यौपानेलाई नेपाल कम्युनिस्ट पार्टी सचिवालयले भरतपुर महानगर कमिटीको अध्यक्षको जिम्मा लगाएको छ । गत महानगर कमिटी अध्यक्ष बनेका न्यौपानेसँग भाषणकला पनि लोभ लाग्दो छ । नेकपाको विधानले जिल्ला सरहकै हैसियतमा महानगर कमिटीलाई पनि राखेको छ ।
२०३५ साल असार १२ गते चितवनको माडी–९ कल्याणपुरमा बुवा रामकृष्ण न्यौपाने र आमा सुमित्रादेवी न्यौपानको कोखमा कान्छो सुपुत्रका रुपमा निम्न मध्यम वर्गीय परिवारमा रामप्रसाद न्यौपानेको जन्म भएको थियो । उनी सानै उमेरदेखि विद्यार्थी राजनीतिमा लागे । २०४५ सालमा विद्यालयमा अनेरास्ववियु बाल कमिटी सदस्य बनेर राजनीतिमा पहिलो पाइला टेकेका न्यौपाने, २०४६ सालमा जनकल्याण निमावि हरिनगरको प्रारम्भिक कमिटीमा आवद्ध भए र पछि त्यसको नेतृत्वसमेत लिए । २०४८ सालमा माडी माविमा अनेरास्ववियु प्रारम्भिक कमिटी सचिव, २०४९ मा अनेरास्ववियुकै इलाका कमिटी अध्यक्ष भएर दुई कार्यकाल गुजारेका उनले २०५१ सालमा एसएलसी दिएपछि अनेरास्ववियु आयोजक कमिटी सदस्य, जिल्ला सचिवालय सदस्य हुँदै २०५४ सालमा जिल्ला कमिटी सचिव बने । २०५५ सालमा पहिलोपटक जिल्ला कमिटीको अध्यक्ष बनेका न्यौपानले दुई कार्यकाल अध्यक्ष चलाए । २०५७ मा अनेरास्ववियु केन्द्रीय सदस्य भई २०६० मा विद्यार्थी राजनीतिबाट बिदा भएर पार्टीतिर लागे । २०६३ सालमा तत्कालिन नेकपा एमाले जिल्ला कमिटी सदस्य बनेका उनी लगातार ६ पटकसम्म जिल्ला कमिटी सदस्य बने । उनले अनेरास्ववियु र पार्टीमा रहँदा वैचारिक प्रशिक्षण चलाउने, स्कुल सञ्चालन गर्ने, संगठित गर्ने, युवाको परिचालन गर्ने कामहरु गरे । त्यसैगरी भर्खरै उनी वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समिति सदस्यमा पनि मनोनित भएका छन् ।
गत असोज ३ गते नेकपा भरतपुर महानगर कमिटीको अध्यक्ष बनेका न्यौपानेका लागि यो नै पार्टी संगठनको महत्वपूर्ण जिम्मेवारी हो ।
देशभरका ६ महानगर कमिटी जिल्ला कमिटी सरहको हैसियतमा छन् । भरतपुर महानगर कमिटीको अध्यक्ष बनिसकेपछि महानगर कमिटीका गतिविधि, सञ्चालन र सांगठनिक कामहरू कसरी भइरहेको छ भनेर अध्यक्ष न्यौपानेसँग गरिएको कुराकानी ः

प्रश्न ः तपाइँ महानगर कमिटीको अध्यक्ष बन्नुभयो, यो पद अपेक्षाकृत नै थियो कि थिएन ?
ड्ड स्वाभाविक ढंगले मैले महानगर कमिटीको अध्यक्षमा दाबी गरेकै थिए । तत्कालिन एमालेको जिल्ला कमिटीमा लगातार ६ कार्यकालसम्म बसेर पार्टीका लागि मैंले योगदान गरेको थिए । पार्टीमा निरन्तर योगदान गरेको र संगठन सञ्चालनमा समेत मैंले केही भूमिकाहरु प्रस्तुत गरेकोले पार्टीले पनि मूल्याङ्कन गरिरहेको थियो । मेरो एउटा जबर्जस्त माग पनि थियो कि पार्टीमा अब युवालाई अगाडि बढाउनुपर्छ । नेतृत्वमा ल्याउनुपर्दछ भन्ने थियो । युवाको योगदानलाई पार्टीले सही मूल्याङ्कन गरेर जिम्मेवारी दिनुपर्दछ भन्ने मेरो बुझाइ हो । मैंले त्यही अनुसार नै यो महत्वपूर्ण जिम्मेवारी पाएको हुँ ।
प्रश्न ः महानगर कमिटीको अध्यक्ष बनिसकेपछि के के काम गर्नुभयो ?
 पार्टीले महानगर कमिटीको इन्चार्जमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई तोकेको छ । मलाई अध्यक्ष र सुमनजीलाई सचिव बनाएको छ । केन्द्रीय सचिवालयले यो फ्रेम बनाइसकेपछि हामीले छलफल ग¥यौं । महानगर कमिटीलाई चलायमान बनाउने सन्र्दभमा केही कामहरु अघि बढाउने योजना पनि बनेका छन् । एकीकृत प्रक्रियालाई तलसम्म लैजानुपर्ने, प्राविधक रुपमा भएको एकतालाई भावनात्मक बनाउनुपर्ने खाँचो पनि छ । जिल्ला पार्टीले महानगर कमिटी बन्नु अघि नै वडा कमिटीहरु बनाइसकेको सन्र्दभमा वडा कमिटीका अध्यक्ष र सचिव ज्यूहरुसँग छलफल र बैंठक गरेका छौं । केही ठाउँमा पार्टीका भेला र प्रशिक्षणहरु चलाएका छौं । यहाँलाई थाहा नै छ अझैं महानगर कमिटी पूर्ण बनेको छैन । महानगर कमिटी नबन्दा केही समस्याहरु पक्कै पनि छन् । बडादशैं र तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राख्यौं । वडा कमिटीसँग बिस्तारित बैठक गर्ने र निर्देशित गर्ने काम भएका छन् । अझैं धेरै कामहरु गर्न बाँकी छ । योजना बनाएर दृढतापूर्वक अघि बढ्छौं ।
प्रश्न ः एकीकरण प्रकृया अझैं पूरा भएको छैन, कार्यकर्ताको मनोभावना कस्तो पाउनु भएको छ ?
 हामी निर्वाचनमा सँगै भएर गयौं । निर्वाचनमा एक भएर जानु भनेको पनि भावनात्मक रूपमा एक हुनु हो । यसले नेता कार्यकर्तामा विश्वास बढाउँछ । निर्वाचनताका साविक दुबै दलका नेता कार्यकर्तामा उत्साह थियो । तर, पार्टी एकता प्रक्रियाले झण्डै दुई वर्ष लिँदा केही निराशा कार्यकर्तामा छ । पार्टीका इमान्दार कार्यकर्ताको उर्जामा कमी भएको महसुस भएको छ । अहिले कमिटीहरु व्यवस्थित गर्ने सन्र्दभमा केही उत्साह थपिएको छ । हामी रिचार्ज गर्दैछौं पार्टी र कार्यकर्तालाई । थुप्रै नेताहरु कमिटीभन्दा बाहिर पर्नुभएको छ । जिम्मेवार कार्यकर्ताहरू, भूगोलमा खट्ने कार्यकर्ताहरु जिम्मेवारी विहीन भएर रहनुभएको छ । पार्टी काममा योगदान गर्न नपाएको गुनासो छ । सबै कार्यकर्तालाई कमिटी प्रणालीमा जोड्छौं । व्यवस्थापन गछौं ।
प्रश्न ः महानगर कमिटीले पूर्णता पाएको छैन काम गर्न असहजता के के हुन् ?
 महानगर कमिटीले पूर्णता नपाउँदा केही समस्या त पक्कै पनि भएको छ । तपापि वडा कमिटी बनिसकेको सन्र्दभमा बिस्तारित बैठक राखेर थोरै भए पनि पार्टी कामलाई तलसम्म पु¥याउन खोजेका छौं । महानगर कमिटी १२५ सदस्यीय बन्छ । केही नेताले यहाँ जिम्मेवारी पाउनुहुन्छ । महानगर कमिटी सदस्यहरू भनेको भूगोलको पनि हुने हुँदा पार्टी काममा, वडा कमिटीसँग उहाँहरु पनि निकट भएर काम गर्न सक्नुहुन्छ । अहिले जस्तो जिम्मेवारीविहीन भएर बस्नु पनि पदैन । अर्कोकुरा उहाँहरुले महानगर कमिटीलाई रिर्पोटिङ पनि गर्नुहुन्छ । त्यसले ‘टु वे कम्युनिकेसन’ गराउँछ । पार्टीलाई स्मुथ र जीवन्त बनाउँछ भन्ने लाग्छ । महानगर कमिटीको पूर्णताका लागि हामीले केन्द्रीय सचिवालय र प्रदेश कमिटी एवम् इन्चार्जलाई समेत भनेका छौं । विधान बमोजिम कमिटी गठन गरिदिन अनुरोध गरेका छौं ।
प्रश्न ः महानगर कमिटी गठनमा समस्या उल्झन खास के हो ?
 अलिकति बुझाइमा समस्या छ । नेकपाको पार्टी विधानले महानगर कमिटी र पार्टी जिल्ला कमिटीलाई समान हैसियत दिएको छ । एकथरी नेताको बुझाई महानगर कमिटी जिल्ला भित्रकै भूगोलमा भएको हुनाले समान हैसियत दिनुहुन्न भन्ने छ । जिल्ला सरहकै मान्यता दिदा जिल्ला कमिटीको समानान्तर हुन्छ कि भन्ने भयले काम गरिरहेको देख्छु म । तर, वास्तवमा त्यस्तो हैन । बुझाइमा कमजोरी छ । एकथरी नेताहरु जिल्ला कमिटीभित्र महानगरलाई राख्नुपर्छ, एउटै हैसियत दिनुहुन्न भन्ने छ । विधानले क्लियर गरेको विषयमा खोचे थाप्नु राम्रो हैन । पार्टी महाधिवेशनसम्म यस्तो अभ्यास गरौं न के बिग्रन्छ ? भोलि समस्या आउने भयो भने महानगरले सोच्ला । त्यसैले यो ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । कमिटी नबन्दा काम गर्न असहज चाँही पक्कै भा छ ।

प्रश्न ः महानगर कमिटिको अध्यक्ष, सचिव र इन्चार्ज चयन नहुँदै महागनरका वडा कमिटी बने यसमा तपाईको भनाइ के छ ?
 देशमा ६ महानगरपालिका छन् । अन्यत्र महानगर कमिटी अघि वडा कमिटी बनेका छैनन् । चितवन पार्टीले वडा कमिटीहरु गठन ग¥यो । यसमा मेरो भनाइ केही छैन । तर, सुल्टो बाटो अपनाएको भए हुन्थ्यो भन्ने हो । जिल्ला कमिटीले आफ्नो काम ठानेर चाँडो काम सक्न यो गरेको होला भन्ने मेरो बुझाइ छ ।
छिटो व्यवस्थापन गर्नुर्छ भनेर यसो गरिएको होला । बनिसकेका वडा कमिटीमा रहेका कमरेडहरू सबैसँग मलाई काम गर्न कुनै असहजता छैन । म भूगोलमा उहाँसँग नै बसेर काम गरेको व्यक्ति हुँ । बनिसकेका वडा कमिटीलाई नै परिचालन गरेर, मिलेर अघि बढ्छौं ।
प्रश्न ः महानगर कमिटी अध्यक्षलाई नेकपा चितवनको जिल्ला कार्यालय टिममा नराख्नुको कारण के हो ?
यो बारेमा उहाँहरुलाई सोध्नुपर्ला । मलाई पनि धेरै सार्थीहरुले सोध्नुभएको छ । तर म यसमा क्लियर छुँ । म पार्टीको जिल्ला कमिटी सदस्य पनि हो । महानगर कमिटीको अध्यक्ष भैसकेपछि मलाई जिल्ला कमिटी सदस्यबाट हटाइदिनुस् पनि भनेको थिएँ । तर, प्रदेशले राख्यो । मैले पार्टीको कुरा अवज्ञा गरिन् । पार्टीको जिल्ला र महानगरको स्टाटस एउटै हो । कार्यालय टिमको सदस्य बन्नुपर्छ भन्ने छैन । आमन्त्रित सदस्यका रुपमा उहाँहरुले चाँहादा बोलाउन सक्नुहुन्छ । त्यसमा मेरो तर्फबाट कुनै समस्या छैन । जिल्लाको छुट्टै कार्यालय छ । महानगरको छुट्टै छ । हामीले आफ्ना जिम्मेवारी र काम तोकिएको भूगोलमा गर्ने हो । समन्वय गरेर नै अघि बढ्छौं । महानगर कमिटीको इन्चार्ज नै केन्द्रीय सदस्य एवम् महानगर प्रमुख हुुनुहुन्छ । त्यसैले समस्या छैन । पार्टी जिल्ला कार्यालय टिममा नराख्नुलाई मैले ठूलो इस्यु बनाएको छैन । मबाट हार्दिकतापूर्ण व्यवहार नै हुन्छ ।
प्रश्न ः महानगर कमिटी कसरी चलाउने सोच बनाउनुभएको छ ?
भरतपुर महानगरपालिकामा २९ वडा छन् । ती हरेक वडामा हाम्रा वडा कमिटीहरु छन् । वडामा पार्टी कमिटीका अलवा विभिन्न जनवर्गिय संगठनहरु निर्माण गछौं । मजदुर, किसान, महिला, उत्पीडित क्षेत्रका जनतालाई कमिटीगत प्रणालीमा समेट्छौं । वडा कार्यालयहरू खोल्ने र सञ्चालन गर्ने काम गछौं । हरेक वडामा भएका सार्वजनिक संघसंस्थाहरुको विवरण लिने, तिनका कामहरुमा पार्टीले सहयोग गर्ने वातावरण तयार छौं । पार्टीले अब पार्टीको मात्रैं काम गर्दैन । जनतासँग जोड्ने कार्यक्रम ल्याउँछौं । हरेक सामाजिक संघसंस्थामा पार्टीका जिम्मेवार व्यक्तिलाई पठाउने, उनीहरुलाई गाइडलाइन दिने, गतिविधिहरूको समीक्षा गर्ने, अरुले भन्दा फरक ढंगले चलाउने वातावरणको सिर्जना गर्छौ । पार्टीमा सबै जनता जोडिन्छन् भन्ने हुँदैन । तर, कुनै न कुनै सामाजिक संघसंस्थामा जनता जोडिएका हुन्छन् । त्यहाँ हामीले काम गरेर देखाउनु छ । त्यसैले आवश्यकता अनुसार फरक फरक भूमिकामा पार्टीलाई ढाल्छौं र अघि बढ्छौं । जनताका समस्याको समाधान गर्ने हिसाबले लाग्छौं । जुन संस्थाको नेतृत्व नेकपाले लिन्छ, त्यो संस्था राम्रो हुनुपर्दछ फरक ढंगले चल्नुपर्दछ । अरूले भन्दा नमूना काम गरेर देखाउने चुनौती हामीलाई हुन्छ । पार्टीको तल्लो तहमा बसेर काम गर्ने कार्यकर्ता पार्टीको सबै नेता हो । रामप्रसाद न्यौपाने पनि उहाँ नै, रेनु दाहाल पनि उहाँ नै हो, प्रचण्ड पनि उहाँ नै हो, केपी ओली पनि उहाँ नै हो । सरकारले गरेका राम्रा कामहरु जनताको बीचमा लैजाने, सुझाव र समस्याहरु लिने र रिर्पोटिङ गर्ने काम हुन्छ । पार्टी कमिटी हुँदा नेता कार्यकर्ताहरु भुत्ते बन्ने अवस्था आएको छ । अब हामी यसलाई स्पातिलो बनाउँछौं । हरेक पार्टी कार्यकर्ताको रेकर्ड राख्छौं । सदस्य संख्या र उहाँहरुको योगदान एवम् विवरण सबै सफ्टवेयरको माध्यमबाट राख्छौं । वडा वडामा गएर सदस्यता विस्तार र विवरणलाई सिधैं सफ्टवेयरमा राख्ने काम अघि बढाउँछौं । पार्टी स्कूल चलाउँछौं । युवाहरुलाई प्रशिक्षण दिने कामहरु अभियानका रुपमा अघि बढाउँछौं । गरिब, विपन्न, असहाय र अशक्त नागरिकको सेवाका लागि योजना बनाउँछौं ।
अस्पतालमा महानगर कमिटीका प्रतिनिधिहरु रहनुहुन्छ । उनीहरुले त्यहाँ आउने बिरामीलाई सहयोग गर्नुहुन्छ । मालपोत, जिल्ला प्रशासन कार्यालय, विकासे अड्डाहरुमा महानगर कमिटीका प्रतिनिधिहरु खटिएर जनतालाई सहयोग गर्ने, सेवा प्रवाहको अनुगमन गर्ने, आवश्यक पृष्ठपोषण गर्ने, ढिलासुस्तीलाई कम गराउने र जवाफदेहिताको विकास गराउने काम गर्छौ । जनताका आधारभूत तहका समस्यामा सहयोग गर्छौ । यी सबै गतिविधीले पार्टीलाई जनतासँग जोड्छ । पार्टीको आक्रमक प्रचार संयन्त्र खडा गछौं । राम्रा काम र गतिविधीहरू जनताका बीचमा लैजान्छौं ।
प्रश्न ः आधारभूत तहका जनताका समस्यामा सहयोग गर्छौ भन्नुभयो कसरी ?
 भरतपुर महानगरपालिकामा सिमान्तकृत चेपाङ समुदायदेखि आदिवासी थारु र बोटे मुसहरसम्मका जनता बस्छन् ।
राज्यले यी समुदायका जनताका लागि ल्याएका कार्यक्रमहरु लक्षित वर्गसम्म पुग्न सकेको छैन । सचेतना र जानकारीको अभाव छ । जस्तो मान्नुस् न, चेपाङ, बोटे मुसहर जातिका व्यक्तिका लागि भरतपुर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । तर, उहाँहरूलाई यो कुराको जानकारी नै छैन । पैसा छैन भनेर उपचार गर्न नै नआउने अवस्था छ । अब नेकपाका कार्यकर्ताले उहाँहरुलाई बुझाएर अस्पतालसम्म ल्याउनुपर्दछ । राज्यले, स्थानीय सरकारहरूले लक्षित वर्गका लागि ल्याएका कार्यक्रमहरु यसै फ्रिज भएर गएका छन् । केही टाठाबाठाले उनीहरुको नाममा आएका कार्यक्रम यसो मेसो मिलाएर खाएका छन् । अब यस्ता काम रोकिनुपर्दछ, रोक्छौं । यहीका बोटे, मुहसर र चेपाङहरु जाडोमा न्यानो कपडा लगाउन नपाउने अवस्था छ । बालबालिकाहरूका खुट्टामा चप्पल हुँदैनन् । विद्यालय जाँदैनन् । कतिपयको बस्ने घर छैन, खाने अन्न छैन । अब हाम्रो पार्टीलाई त्यहाँ पु¥याउनु छ । स्थानीय सरकार, प्रदेश सरकार, सामाजिक संघसंस्था र व्यक्तिहरुलाई त्यहाँ जोड्न आवश्यक छ । महानगर कमिटीले अब पुलको काम गर्नेछ । हामी जाडोमा न्यानो बाँड्ने छौं । फुटेर रगत बग्ने खुट्टामा चप्पल दिने छौं । जनता आवास कार्यक्रम मार्फत विपन्नहरुका घर निर्माणमा महानगरपालिकासँग समन्वय गर्नेछौं ।
प्रश्न ः अन्तिममा एउटा प्रश्न यहाँले महानगरपािलकाको कुरा पनि निकाल्नुभयो, महानगरको प्रमुख नै महानगर कमिटीको इन्चार्ज हुनुहुन्छ, महानगरले पार्टी चलाउँछ की पार्टीले महानगर ?
 यहाँले सही प्रश्न गर्नुभयो । महानगरपालिकाको प्रमुख नै महानगर कमिटीको इन्चार्ज भएपछि काम गर्न सहज हुन्छ जस्तो लाग्छ । मलाई लाग्छ देशका कुनै पनि महानगर प्रमुख, महानगरको इन्चार्ज हुनुहुन्न होला । यो हाम्रा लागि खुसीको कुरा हो । महानगरका योजना पार्टीका योजना बन्छन् । पार्टीले महानगरलाई सहयोग गर्छ । सहजीकरण गर्ने काम महानगर कमिटीको हुन्छ । जनताका समस्याहरू महानगरपालिकासँग राख्ने लैजाने काम हुन्छ । महानगरले पार्टीले उठाएका सान्र्दभिक, आवश्यक र जायज मागलाई सम्बोधन गर्छ । यसले नेकपालाई जनतासँग जोड्न झनै सहज हुने र जनतामा पनि विश्वास आर्जन गर्न सहज हुने देख्छु म ।

प्रश्न ः अन्त्यमा केही भन्नुपर्ने कुराहरु छन् की ?
 खास केही छैन धेरै कुराहरु आइसकेका छन् । नेकपा भरतपुर महानगर कमिटीलाई देशकै नमूना रुपमा चलाउने मेरो योजना र सोच छ । हाम्रो पार्टी सञ्चालनको तरिकाको अनुकरण अरु पार्टी कमिटीहरुले पनि गर्न सकुन् भन्ने लाग्छ । यसमा पार्टी भित्र र बाहिरका सबै जनाको सहयोग रहनेछ भन्ने विश्वास लिएको छु । यहाँले मेरा केही भनाईहरु राख्ने मौका दिनुभयो त्यसका लागि धन्यवाद दिन चाहान्छु । धन्यवाद ।