तराईका २२ जिल्लामा आमहड्तालको घोषणा, बन्दकाे प्रभाव

धनगढी, २० फागुन । थरुहट/थारुवान राष्ट्रिय मोर्चाले मंगलबार र बुधबार तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ ।

सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले बन्दको आशिंका प्रभाव देखिएको छ ।

कैलालीका विभिन्न स्थानबाट अन्यत्रका लागि सवारी साधन नछुटेपनि अन्यत्रबाट कैलाली आउने क्रम भने छ । धनगढी सहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा खुलेको छ । मोर्चाका कैलाली संयोजक माधव थारुले अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको बताए ।

आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।