काठमाडौंमा अध्ययनरत २ जना विद्यार्थीद्वारा पुरस्कारको रकम चेपाङ केन्द्रलाई सहयोग 

चितवन । काठमाडौं, नयाँ बजार स्थीत मनास्लु पब्लिक स्कूलमा अध्ययनरत २ जना विद्यार्थीले चेपाङ केन्द्रलाई सहयोग गरेका छन ।
सो स्कुलको कक्षा ७ मा अध्ययनरत छात्रा अन्बी बन्जारा र कक्षा युकेजीमा अध्ययनरत  छात्र रिदम बन्जाराले विभिन्न प्रतियोगितामा प्राप्त गरेको नगद रकमबाट पुर्बी  चितवनको रत्ननगर-११, मंगलपुरमा रहेको गामबेशीको चेपाङ केन्द्रको लागि खाद्यान्न सामाग्री खरिद गरि पठाएका हुन । उनीहरुले प्राप्त गरेको पुरस्कार रकममा विद्यार्थीका बुवा आकाश बन्जाराले रकम थप गरि २५ हजार रुपैयाँको खाद्यान्न खरिद गरिदिएका हुन ।
सो खाद्य सामाग्री आज एक कार्यक्रमका  बिच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा लायन्स क्लब अफ चितवन कालिकाका अध्यक्ष शुदर्शन अधिकारी, सचिव बुद्धिप्रसाद अधिकारी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडाले केन्द्रमा पुगि सो खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।
केन्द्रमा १२ बोरा चामल, २ काटुन तोरीको तेल, ४ किलो मसला, ४ किलो बेसार, १ बोरा नुन, ३ बोरा सोयाबिन र १ बोरा आलू केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गरिएको हो ।
सो केन्द्रमा चितवनको पहाडी बस्तीका बिपन्न १ सय ५० जना चेपाङ विद्यार्थीहरु आश्रीत छन । हङकङमा व्यावसाय गर्दै आएका आकाश बन्जारा चितवनको कालिका-६ खोलेसिमलका बासिन्दा हुन । उनले नेपालमा विभिन्न सामाजिक सहयोग गर्दै आएका छन ।