पर्यटकिय क्षेत्र परेवाकोटको विकास गर्न यही फाल्गुन २१ गतेबाट महोत्सव हुँदै

चितवन  । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं १ अन्तर्गत हुने महादेबटारमा यही फागुन २१ गते प्रथम परेवाकोट पर्यटन महोत्सव हुने भएको छ । परेवाकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले परेवाश्वरी सामुदायिक वन,लोथर मध्यवर्ती उपभोक्ता समिति,युवा जागृती क्लव र बुलबुल इन्टरटेन्टमेन्ट एण्ड मिडिया प्रा.लि.ले सयुक्त रुपमा महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा चेपाङको खाना गिठ्ठाको मम, सिस्नुको परिकार,युवा बैज्ञानिक सरोज प्रजाले आविस्कार गरेको कार तथा प्यारामोटरहरुको प्रर्दशनी,परेवाकोटमा जीप सफारी,घोडा शयर र आर्कषण सेल्फी खिच्ने व्यवस्था मिलाइएको महोत्सव मुल समारोह समितिको संयोजक सानुबाबु बर्तौलाले जानकारी दिए । आयोजक लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङबोेले भ्रमण बर्ष,राप्तीको पर्यटन,आर्थिक,सामाजिक विकास गर्ने उद्देश्य तथा राप्ती नगर भित्रका पर्यटकीय स्थलहरु परेवाकोट,कामिनचुली,नागदह,भास्मणि तालको प्रर्बधनका लागि महोत्सवको प्रथम संस्करण गर्न लागिएको बताए ।

महोत्सवमा ५० लाख खर्च लाग्ने र एक लाख दर्शकले अबलोकन गर्ने आयोजकलेक्ष्य लिएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले महोत्सवले राप्ती नगर भित्रका पर्यटकीय स्थलहरुको प्रर्बधन गर्ने भन्दै महोत्सवलाई नगरपालिकाले सहयोग गर्ने बताए । वडा नं १ का वडाध्यक्ष सिद्धिलाल स्याङतानले परेवाकोटको विकासको लागि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पूर्वाधार निर्माण सुरु भएको बताए ।