कालिका नगरपालिकाको फोहोरले वरण्डाभार जंगल र खगेरी खोला दुर्गन्धित (फोटो फिचर सहित)

शिशिर सिंखडा, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका र भरतपुर महानगरपालिका सीमा क्षेत्रमा रहेको खगेरी खोला र वरण्डाभार जंगलमा जथाभावी फोहोर फाल्नाले दुर्गन्ध फैलिएको छ । खगेरी खोला, सो नजिकैको गंगोली घोल र वरण्डाभार जंगल छेउ फोहोर फाल्नाले सो क्षेत्रमा दुर्गन्ध फैलिएको छ भने खगेरी खोला पूर्ण रुपमा प्रदुषित भएको छ ।

जनावरको जैविक मार्ग कोरिडोरको रुपमा रहेको सो जंगलमा फोहोर फाल्नाले जंगलबाट निस्केर जनावरहरुले समेत फोहोर खाने गरेका छन् । स्थानीयहरु आवतजावत गर्दा समेत दुर्गन्ध फैलिएकोले हिड्न समस्या भएको बताएका छन् । यस अगाडि पनि सोही मार्गको चतुर्मुखी सामुदायिक वनको क्षेत्रमा फोहोर फालेको ठाउँ नजिकै बाघको आक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ भने केही व्यक्तिहरु घाइते समेत भएका थिए ।

लंकालाईन–भोजाड सडक खण्डको खगेरी पुल नजिकैका क्षेत्रहरु नवजागृति सामुदायिक वन, चतुर्मुखी सामुदायिक वन र भिमवली सामुदायिक वनको क्षेत्र पर्दछ । सो सडक खण्डका छेउ र वन क्षेत्रमा ठूलो मात्रामा फोहोरहरु यत्रतत्र छरिएर रहेको देख्न सकिन्छ । भरतपुर महानगरपालिकाको आफ्नै डम्पिङ साइट रहेको छ । महानगरले नगर क्षेत्रका फोहोरहरु उठाई व्यवस्थापन गर्दै आएको छ ।

कालिका नगरपालिकाले हालसम्म फोहोरको व्यवस्थापन नगर्नाले सो जैविक मार्ग एवम् कोरिडोर क्षेत्रमा फालिएका फोहोरहरु जंगली जनावर र पानीमा हुने जीवहरुले खाने गरेका छन् भने सो सडक भएर यात्रा गर्ने स्थानीयहरुले सास्ती व्यहोर्नु परेको छ । फोहोरको व्यवस्थापन नहुँदा कालिका नगरपालिकाबाट निस्किएका फोहोरहरु सो स्थानमा फाल्न नगरवासीहरु बाध्य भएका छन् । स्थानीय निर्वाचन भएको ३ वर्ष पुग्नै लाग्दा समेत नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन ।

फोहोर व्यवस्थापन हुन नसक्दा नगरपालिकाको छवि समेत बिग्रदै गएको छ भने स्थानीयले समेत फोहोर व्यवस्थापन गर्न नपाउँदा दुःख पाउँदै आएका छन् । कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ हरेक दिन जसो जिल्ला सदरमुकाम भरतपुर सोही फोहोर थुप्रिएको बाटो हुँदै जाने गर्दछन् । उनी सो फोहोर छेउबाट भरतपुर आउजाउ गरेपनि देखेनदेखे झैँ गरी हिड्ने गरेको स्थानीयहरु बताउँछन्।

नगर प्रमुख श्रेष्ठले नगरपालिकाको मुख्य प्राथमिकतामा फोहोर व्यवस्थापनलाई राखी काम गर्नुपर्नेमा सो कामको हालसम्म पनि कुनै कार्ययोजना नबनेको र काम अगाडि बढाएको नदेखिनुले कालिका नगरवासीहरु आश्चर्यमा परेको बताउँछन् ।