चितवनका सेलिब्रेटी सांसद बिजय सुवेदी: जसको नेतृत्वमा रंगशालाका लागि उठ्यो ५५ करोड

चितवन । चितवनको रामपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेपछि धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले सधै भन्दै आएका थिए ‘चितवन जागेन’ । उनले चितवनका जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी र पत्रकारलाई संधै यही कुरा भनिरहन्थे ।

उनको चाहाना थियो, ‘चितवनका प्रत्येक नागरिक रंगशाला निर्माणमा अग्रसर भएर लागुन् ।’ स्थानीय युवाहरुले रंगशालाको बारमा डोजर लगाएपछि धुर्मुस निर्माणको काम बिथोलिन्छ कि भनेर चिन्तित बनेका थिए । उनलाई मात्र होइन चितवनका सबै नागरिकलाई पनि कतै रंगशाला बन्दैन कि भन्ने चिन्ता थियो । तर, एकाएक रंगशाला निर्माणले नाटकीयरुपमा गति लियो । यदि चितवनकै नागरिकले निर्माणको काममा अपनत्व लिँदै सहयोग जुटाउन सक्रिय नभएको भए पक्कै पनि रंगशालाको कामले गति लिने कुनै सम्भावना थिएन । नागरिकलाई रंगशालाबारे बुझाउन र झक्झक्याउन केही मानिसहरु नेतृत्वदायी भूमिकामा उत्प्रेरक बनेर उभिए । तीनै नेतृत्वकर्ता हुन्  चितवनका सेलिब्रेटी प्रदेश सांसद विजय सुवेदी ।

धुर्मुसको चितवनलाई रंगशाला निर्माणमा जगाउने चाहना चितवनबाट निर्वार्चित प्रदेशसभा सांसद सुवेदीको नेतृत्वमा भएको धनधान्याचल महोत्सवले पूरा गरिदिएको छ । उनको नेतृत्वमा १५ दिनको तयारीमा नै अहिलेसम्मकै ठूलो धनधान्याचल महोत्सव सम्पन्न गरिएको छ । हजारौं सहभागी भएर धनधान्याचल मार्फत् रंगशाला निर्माणमा सहयोग गरेका छन् । धनधान्याचलमा कुनै जात र धर्म नभनी समग्र जिल्ला नै जुटेको थियो । जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी, पत्रकार, सामाजिक अभियन्ता सबै यो अभियानमा जोडिएका थिए ।

५० करोड संकलनको लक्ष्यका साथ सुरु गरिएको धनधान्याचलमा अपेक्षा गरेभन्दा धेरै आर्थिक संकलन भयो । आयोजकका अनुसार ५५ करोड बढी आर्थिक संकलन भएको छ । जसमा सात करोड नगद संकलन भएको छ भने अन्य बोलकबोल रकम उठेको छ । सबै धर्म र सम्प्रदायलाई साथमा लिँदै महायज्ञको उद्घाटन र समापन पनि प्रविधिसंग जोडेर हिन्दू र बौंद्ध परम्परासंगै खेलाडीहरुबाट गरिएको थियो । धनधान्याचलबाट रंगशाला निर्माणका लागि चितवन जुट्यो भन्ने सन्देश देशभर फैलिएको छ । सांसद सुवेदीले छोटो समयमा नै महायज्ञ सफलतापूर्वक सम्पन्न भएको बताए । भरतपुर महानगरपालिका, जनप्रतिनिधि, राजनीतिक दल, सहकारी, उद्योग व्यवसायी, पत्रकार, संघसंस्था लगायत सबैको सहकार्यबाट नै कार्यक्रम भव्य भएको उनले बताए ।

‘हामीले चुनौती सामना गरेर पनि महायज्ञ सम्पन्न ग¥यौ’,उनले भने,‘सबै अहोरात्र खटिएका कारण यो सम्भव भयो ।’ उनले सहयोग गर्ने र सहभागी जनाउने सबैलाई धन्यवाद दिए । चितवनका नौं वटै राजनीतिक दल रंगशाला निर्माणका लागि एउटै पार्टी भएर काम गरेको उनले बताए । महायज्ञमा मात्र नभई निरन्तर रंगशाला निर्माणमा साथ दिने सांसद सुवेदीले बताए । ‘आगामी दिनमा सहयोग आइरहने र धुर्मुस सुन्तलीले खुुरुखुरु काम गर्ने वातावरण बनाउने अभियानमा हामी लाग्नेछौं’,उनले भने । छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको आयव्यय सार्वजनिक गर्ने उनले जानकारी दिए ।

सुवेदी चितवन क्षेत्र नम्वर २ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद हुन् । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा उनले गरेको कामको प्रशंसा हुने गरेको छ । सुवेदीकै परिकल्पनामा भरतपुर ११ को ऐतिहाँसिक तथा धार्मिक क्षेत्र गणेस्थानलाई गणेशधामको रुपमा विकास गरिएको छ । गणेशधाम बनाउनका लागि लगाइएको महायज्ञमा पनि ११ करोड बढी आर्थिक संकलन भएको थियो । गणेशधाम निर्माण धमाधम भइरहेको छ ।

सुवेदी सबै भन्दा धेरै नागरिकको घरदैलोमा पुग्ने र गुनासो सुन्ने सांसदको रुपमा परिचित छन् । उनले प्रदेशसभामा निर्वाचित भएपछि हरियाली भरतपुर अभियान, फोहोरबाट ग्याँस उत्पादनदेखि विकास निर्माण सम्मका काममा उनी खटिएका छन् । उनी साप्ताहिकरुपमा नियमित सरसफाइ अभियानमा समेत सहभागी हुने गरेका छन् । रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्याचल महोत्सव सुरु भएको थियो । महोत्सवमा पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहेका थिए । करिब ३ अर्ब रुपैंयाँको लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना सहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।