पर्यावरणमैत्री विकास गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असर कम गर्न पर्यावरणमैत्री विकास गर्नुपर्ने बताउनुभएको छ ।

हेटौँडामा सहिद सप्ताहका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी रुपमा पर्यावरणमा प्रतिकुल प्रभाव परेकोले त्यसको न्युनिकरण गर्नुपर्र्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले विश्वव्यापी रुपमा पर्यावरणमा प्रतिकुल प्रभाव परेकोले जलवायु परिवर्तन भई जैविक विविधता संकटमा परेको बताउनुभयो । उहाँले चुरे क्षेत्रमा रहेको जीव र बनस्पतिको संरक्षणका लागि वातावरणीय सन्तुलन कायम गर्नुपर्ने खाँचो औल्याउनुभयो ।

उहाँले सहिदहरुबारे अध्ययन गर्नका लागि स्मारक महत्वपूर्ण थलो बन्ने समेत बताउनुभयो । राष्ट्रपति भण्डारीले समृद्धिको अभियानमा जुट्न प्रदेश सरकार सक्षम हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा अवसरमा राष्ट्रपति भण्डारीले प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिवार्चित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा अनावरण गर्नुभएको थियो ।

उहाँले चार जना अगुवा हरुको पूर्णकदको सालिक र सहिद स्मारकको रजत महोत्सव स्तम्भ अनावरण गर्नुका साथै सहिद स्मारकमा सहिदहरुप्रति पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । शहिद स्मारक निर्माणको २५ औं वर्षको उपलक्ष्यमा रजत जयन्ती मनाउने कार्यक्रममा सरिक हुनुभएको हो ।

कार्यक्रममा एउटै ढुंगालाई कुँदेर १२ अमरशहिदका आकृति बनाउने कलाकारहरु कमलेस महर्जन, गोविन्द चौधरी र पृथ्वी श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । सोही अवसरमा स्मारक समितिका व्यवस्थापक रामचन्द्र न्यौपाने र सुरुवाती चरणमा स्मारक समितिका हरिशरण सुवेदीलाई पनि राष्ट्रपतिको हातबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, मन्त्री अरुण नेपाल, स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना लगायतले सहिदहरुको सपनालाई साकार पार्न समृद्धिको लक्ष्यमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो

कार्यक्रममा बागमती प्रदेशका प्रमुख बिष्णु प्रसाद प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ, संघीय संसद कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामनारायण विडारी, प्रदेशका उपसभामुख राधिका तामाङ, बागमती प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेश सभा सदस्यहरु, स्थानिय जनप्रतिनिधि,सरकारी तहका उच्चस्थ कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, स्थानिय लगायतको सहभागिता थियो ।