कोरोना भाइरस: नेपाल सरकारको प्रतीक्षा गर्दै चीनको वुहानमा नेपाली विद्यार्थी

सरकारले जहाजको व्यवस्था गरोस्, भाडा हामी दिन्छौँ: दिवंगर खोटेजा

हुवाचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी वुहानमा पिएचडीका विद्यार्थी

तीन वर्षदेखि म यो सहरमा छु । हुपेई प्रान्तको यो सहर राजधानी बेइजिङदेखि १२ घन्टाको दूरीमा दक्षिण र सांघाईबाट नौ घन्टाको दूरीमा पश्चिम पर्छ । हुन त ३० डिसेम्बरमा नै यो रोगको विषयमा चिनियाँ सरकारलाई थाहा भइसकेको थियो । तर, यो कसरी फैलिन्छ भन्नेमा उनीहरू नै अलमलमा थिए । त्यसैले सरकारीस्तरबाट कुनै औपचारिक जानकारी आएको थिएन । अचानक २० जनवरीमा युनिभर्सिटीबाट इमेल आयो, ‘कोरोना भाइरस मान्छेबाट मान्छेमा फैलिन थालेको छ । सहरमा संक्रमण फैलिसकेको छ, त्यसैले सतर्क रहनु, बाहिर जाँदा मास्क लगाएर मात्र निस्किनु ।’ यस्तो इमेल आएपछि हामी सतर्क भयौँ, तर त्यस्तो डरलाग्दो केही हो भन्ने सोचका थिएनौँ ।

दुई दिनपछि ठूलो खबर आयो– कोरोना भाइरसबाट ११ जनाको मृत्यु भयो, चार–पाँच सयजनामा संक्रमण भेटिएको छ । धमाधम सार्वजनिक यातायात बन्द हुन थाल्यो । पसलहरू पनि बन्द हुन थाले । २३ जनवरी (बिहीबार) दिउँसो १० बजेदेखि औपचारिक रूपमा सरकारले वुहान सहरलाई ‘लक्ड–डाउन’ ग¥यो । सहरभित्र पस्न र सहरबाट बाहिर निस्कन पूर्ण रूपमा निषेध गरियो ।

संक्रमण र मृत्युका अपडेटहरू लगातार आइरहे । शनिबार बेलुकीसम्म त ४१ जनाको मृत्यु भएको घोषणा भएको छ । तीमध्ये ३८ जना त वुहान सहरका हुन् । अहिले १२ सयभन्दा बढी संक्रमित भएको औपचारिक जानकारी आएको छ । संक्रमितका परिवारलाई पनि सरकारले क्वारेन्टाइनमा राखेको छ । अब भोलि के अपडेट आउने हो भनेर सारा मान्छे त्रसित छन् ।

अहिले चिनियाँ नयाँ वर्ष भएकाले सबै विश्वविद्यालय बन्द छन् । त्यसैले अधिकांश विद्यार्थी घर गइसकेका थिए । विश्वविद्यालय यसै पनि सुनसान थिए । तर, अहिले सहर पनि सुनसान छ । हामी पनि होस्टेलको कोठाभित्र सीमित छौँ । हामीलाई बाहिर जाँदा पनि गेटमै स्वास्थ्य जाँच हुन्छ । बाहिर आउँदा पनि गेटमा फेरि जाँच हुन्छ । शरीरको तापक्रम बढेको जोसुकैलाई पनि तुरुन्तै सरकारी अस्पतालमा लगिन्छ ।

यो सहरमा नेपाली विद्यार्थी सयभन्दा बढी छन् । अहिले हामीले बनाएको वी–च्याट ग्रुपमा ९२ जना विद्यार्थी जोडिएका छन् । शारीरिक रूपमा हामी सबै नेपाली विद्यार्थी ठीकै छौँ, तर मानसिक रूपमा धेरै कमजोर भएका छौँ । हाछ्युँ लाग्दा पनि र एक–दुईपटक खोकी लाग्दा पनि के भयो भनेर डराउनुपर्ने अवस्था छ । बजार खुला छैनन्, खुलेका पसलमा पनि जान डर छ । त्यसैले यहाँ बस्न असाध्यै गाह्रो छ । घरमा पनि छिनछिनमा कुरा भइरहेको छ । सबैजना अत्तालिनुभएको छ । यस्तो वेलामा नेपाल सरकारले हामीलाई यहाँबाट उद्धार गरे हुन्थ्यो भन्ने लाग्छ । अमेरिका र फ्रान्सजस्ता देशका सरकारले आफ्ना नागरिकलाई चार्टर्ड फ्लाइटबाट फर्काउने तयारी गर्दै छन् । हाम्रो देशको सरकारले पनि जहाजको व्यवस्था गरोस्, लागेको भाडा हामी आफैं तिर्छौँ भनेर दूतावासलाई भनेका छौँ । दूतावासले आत्तिनुपर्दैन भनेको छ । तर, हामीलाई नेपाल फर्काउने विषयमा ठोस जवाफ दिएको छैन ।

नयाँ पत्रिका दैनिक