प्रचलित :

काठमाडौं । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका २२ जना पाइलटले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । उनीहरुले स्थायी र करारका पाइलटबीच सेवा सुविधामा विभेद भएको भन्दै सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन् । उनीहरुले जनवरी १७ तारिखको मिति राखी ३ महिनाको अवधि दिएर यो समयभित्र आफ्नो माग पूरा नभए राजीनामा दिने चेतावनी दिएका हुन् ।

निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दले पाइलटहरुले अल्टिमेटमसहितको पत्र निगम कार्यालयमा दर्ता गराएको पुष्टि गरे । ‘उहाँहरुले तीन महिनाको अवधि दिएर स्थायी र करारका पाइलटहरुबीचको विभेद हटाउन माग गर्नुभएको छ’ चन्दले डिसीनेपालसँग भने ‘तर अहिल्यै उहाँहरुको मागका विषयमा कुनै ठोस कदम उठाउन सकिने अवस्था छैन ।’

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले केही दिन अघिमात्र राजीनामा दिएका थिए । त्यसपछि चन्दलाई निमित्त कार्यकारी अध्यक्ष बनाइएको हो । चन्दले आफू निमित्त मात्रै भएकोले पाइलटहरुको मागका विषयमा निर्णय गर्ने अधिकार आफूसँग नभएको बताए । ‘नयाँ व्यवस्थापन आएपछि मात्र उहाँहरुको मागको विषयमा निर्णय हुन्छ, मसँग त्यो अधिकार छैन’ चन्दले भने ।

पाइलटहरुले दिएको तीन महिनाको अवधिभित्र नयाँ अध्यक्ष नआए यस विषयमा कुनै निर्णय गर्न नसकिने चन्दको भनाइ थियो । यदि नयाँ व्यवस्थापन नआइ ३ महिनाको समय बित्यो र पाइलटहरुले राजीनामा दिए भने त्यो अवस्थामा करारकै पाइलटबाट उडान संचालन गरिने चन्दले बताए । ‘निगमको उडान रोकिँदैन, स्थायी पाइलटहरुले राजीनामा दिए हामीले करारकै पाइलटबाट काम चलाउनेछौं’ उनले भने । स्थायी पाइलटहरुले आफूहरुको सेवा सुविधा करारका पाइलटहरुको सेवा सुविधारह भएकोले यमा पुनर्विचार गरिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस !