कोरोना भाइसरका कारण हालसम्म १७ जनाकाे मृत्यु, नेपालमा पनि सतर्कता बढाइयाे

काठमाडाैं । चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ ।

श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जानकारी दिएकाे छ ।

विमानस्थल कार्यालयले पनि चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ । विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरूको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थलले जनाएकाे छ ।

वुहान शहरबाट आएका एक नेपालीमा यो भाइरसको सङ्क्रमण देखिएपछि ती व्यक्तिकाे नमूना परीक्षणका लागि हङकङ पठाइएको छ । ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भए पनि निगरानीमै रहेको महाशाखाले जनाएको छ ।

अहिलेसम्म याे भाइरसकाे सङ्क्रमण चीनबाहेक अमेरिका दक्षिण काेरिया जापान र थाइल्याण्डमा पनि देखिएकाे छ । भाइरसका कारण अहिलेसम्म कम्तीमा १७ जनाकाे ज्यान गइसकेकाे छ ।