चीनबाट रेल आउने बाटो छेक्ने गरी अमेरिकाबाट एमसीसी आयो : नेकपा नेता लिलामणि पाेख्रेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसीको विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गर्न माग गरका छन्। चीनबाट रेल आउने बाटो छेक्ने गरी अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत ट्रान्समिसन लाइन बनाउन लागेको समेत बताए।

पुष्पलाल मित्रता केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन्।पोखरेलले एमसीसी परियोजना अन्तर्गत विद्युतीय प्रसारण लाइन काठमाडौंको लप्सीफेदी हुँदै नुवाकोट रातमाटे पुर्‍याउने र त्यसपछि हेटौँडा हुँदै तनहुँ पुर्‍याउनुको औचित्यमाथि समेत प्रश्न उठाए। ’तनहुँबाट किन पाल्पा हुँदै बुटबल लैजान खोजेको हो, त्यसबारे सञ्चारमाध्यमले खोज्न जरुरी छ,’ पोखरेलले भने, ‘उनीहरुले गर्ने भनेको आयोजनाको डीपीआर माग्नुहोस्, त्यसबाट सबै कुरा छर्लंग भइहाल्छ।’

पोखरेलले एमसीसीबारे लेख्न नेपाली सञ्चारमाध्यम डराएको आरोप पनि लगाए। एमसीसीले नेपाललाई घाटा हुने भन्दै त्यसलाई नेकपा नेतृत्वले पारित नगर्नेमा आफू विश्वस्त रहेको उनले बताए। एमसीसीबाट देशलाई पूरै घाटा छ। त्यस्तो विषय नेकपाका नेताहरुले पारित नगर्ने विश्वासमा छु,’ पोेखरेलले भने। परियोजनाको सुरक्षाको कसले गर्ने भन्ने विषयमा समेत पोखरेलले प्रश्न उठाए। ‘परियोजनाको सुरक्षाको चेकपोस्ट कहाँकहाँ रहने हो? त्यसको सुरक्षा कसले गर्छ ? नेपालीले कि अमेरिकी सुरक्षाकर्मीले ?’ पोखरेलको प्रश्न थियो।