कालिकाको बौद्ध गुम्बामा यही माघ ५ गतेबाट बज्रगुरु जप तथा विश्व शान्ति पुजा हुँदै

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. २ कमलचोकमा दोश्रो ऐतिहासिक बज्रगुरु जप तथा विश्व शान्ति पुजा हुने भएको छ । ढोकुन थार्वालिङ्ग गुम्बाको आयोजनामा हुन लागेको सो पुजा यही माघ ५ गतेबाट हुने भएको छ । गुम्बाको भवन निर्माण गर्ने मुख्य उद्देश्यका साथ संचालित विश्व शान्ति पुजा यही माघ ११ गतेसम्म संचालन हुने धर्मगुरु लामा पेमा दोर्जे मोक्तानले जानकारी दिए । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा धर्मगुरु मोक्तानले संकलित रकमबाट गुम्बाको तीनतले भवन सहित विभिन्न भौतिक निर्माणका कार्यहरु गर्ने जानकारी दिए ।

पञ्चवर्षीय योजना अनुसार गुम्बा निर्माण सम्पन्न गर्न ५ करोड रुपैया खर्च लाग्ने उनले बताए । सो गुम्बा निर्माण पश्चात् गुम्बालाई बौद्ध विद्यालयको रुपमा विकास गर्ने र बौद्ध दर्शनको अध्ययन, अध्यापन गराउने समेत योजना रहेको उनले बताए । ७ दिनसम्म संचालन हुने सो विश्व शान्ति पुजामा चितवन सहित मकवानपुर, सर्लाही, बारा, काठमाडौँबाट समेत भक्तजनहरुको उपस्थिति रहने छ ।

कार्यक्रम अवधिमा ५० जना लामा गुरुहरुको उपस्थिति रहने छ । सो पुजा कार्यक्रमबाट १ करोड रुपैया भन्दा बढी रकम संकलन गर्ने आयोजकले लक्ष्य लिएका छन् । वि.सं. २०५८ सालमा स्थापना भएको सो गुम्बाको आफ्नै १० कठ्ठा जमिन रहेको छ । सो पुजा कार्यक्रममा हरेक दिन पुजा, जपका अतिरिक्त बौद्ध धर्म, दर्शन एवम् कर्मकाण्ड, संस्कार सम्वन्धी धर्म प्रवचन हुने गुम्बाका अध्यक्ष कमल कुमार लामाले जानकारी दिए । कार्यक्रममा गुम्बाका सचिव युवराज बमजन, कोषाध्यक्ष फुलमान लामा, सदस्य कृष्ण कुमार लामा लगायतले आफ्ना भनाइहरु राखेको थिए ।