आज माघी पर्व, विशेष हर्सोल्लासका साथ मनाइदै, देवघाटमा पनि विशेष मेला

काठमाडाैं । प्रत्येक वर्ष माघ महिनाको १ गते माघे सङ्क्रान्ति मनाइन्छ । माघ १ गतेबाट नै सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

सामान्यतया सूर्यले १२ वटा राशिलाई नै प्रभाव पार्ने भए पनि कर्कट र मकर राशिमा सूर्य प्रस्थान गर्ने दिनलाई चाहिँ विशेष मानिन्छ । साउन १ गतेका दिन सूर्य कर्कट राशिमा प्रवेश गर्दछ । यस दिनबाट नै सूर्य दक्षिणी गोलार्धतिर लाग्ने भएकाले यसबेलादेखि दक्षिणायन सुरु हुन्छ । यस दिन लुतो फाल्ने, कण्डारक पूजा गर्ने आदि विभिन्न संस्कृतिहरु छन् ।

यही सूर्य नै माघ १ गतेबाट मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण सुरु हुन्छ । योगी तथा सन्यासीहरु उत्तरायणको समयमा नै शरीर त्याग्न चाहन्छन् ।महाभारतका प्रसिद्ध पात्र भीष्म पितामहले पनि यही समयमा प्राण त्यागेका थिए ।

यसै दिनदेखि नै दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । तर आज भोलि भने पुष ७ गतेबाट नै दिन लामो र रात छोटो हुन सुरु हुन्छ । विभिन्न भाषाभाषी र समुदायले यस पर्वलाई मनाउने भएकाले आफ्नै सङ्स्कृतिअनुसार यस पर्वको नामहरु पनि फरक–फरक छन् । नाम फरक भए पनि यस पर्वलाई अधिकांश नेपाली समुदायले विशेष पर्वको रुपमा मान्दछन् ।

माघे सङ्क्रान्ति पर्व नेपालभरका विभिन्न नदी, तलाउ, त्रिवेणीमा गइ स्नान गरी पूजाआजाका साथ तिलको लड्डु, घिउ, चाकु, तरुल आदि खाएर मनाइन्छ । यस दिन कपडा, घिउ, चाकु, तरुल, तिलको लड्डु, सागपात आदि दान गरेमा विशेष पुण्य पाइने र खाएमा निरोगी भइने विश्वास रहेको छ ।

शिशिर ऋतु सुरु गराउने यस पर्वमा घिउ, चाकु, तिल तथा खिचडी खानाले शरीरमा गर्मीकाे मात्रा बढेर तागत दिनुका साथै मास हालेर पकाइएको तेल शरीरमा घस्दा छालासम्बन्धी सबै रोग नाश हुने विश्वास छ ।

वैज्ञानिक हिसाबले हेर्ने हो भने पनि मानिसको शरीरको लागि चाहिने पोषक तत्वहरुलाई यस दिन नै खानु भन्नाले यस पर्वले मानिसको स्वास्थ्यलाई बलियो बनाउन खोजेको हुनाले यसको सन्देश सकारात्मक नै देखिन्छ ।

जातियता, सांस्कृतिक तथा भूगोलको आधारमा नेपालमा विभिन्न विविधता रहेको भए पनि यो पर्वलाई सबैले भिन्न–भिन्न तरिकाले मनाउँछन् । यस पर्वलाई थारु समुदायले माघी पर्व भनेर मनाउँछन् र यसलाई नयाँ वर्षको रुपमा पनि मनाउँछन् ।

मगर समुदायले यस पर्वलाई माघ्या/सेल्ह्रेस भन्दछन् । यसरी नेपालभर छरिएर बसेका राई, मगर, लिम्बु,नेवार, गुरुङ, ब्रह्मण, क्षेत्री, मधेसी आदि सबैले आफ्नै परम्परा र भिन्न–भिन्न तरिकाले यस पर्वलाई मनाउँछन् ।

काठमाडाैंका पुरानाे समुदाय अर्थात् नेवारहरुले पनि यस पर्वलाई घ्यूचाकु/सल्हुको रुपमा मनाउँछन् । यस दिन नेवारहरु चाकुमा तिल मिसाएर बनाएको लड्डु दान गरेर आफू पनि खाने गर्दछन् । घरका सबैले बिहानै नुहाइधुवाइ गरेर देवी देवताहरुको पूजा गर्ने गर्दछन् ।

यस दिन भक्तपुरमा तिलमाधव नारायणको मेला लाग्छ । यस दिन तिलमाधवको मूर्तिमा घिउ र तिल लगाइन्छ र चार दिनपछि यसैलाई प्रसादको रुपमा बाँडिन्छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा पनि यस समयमा भव्य मेला लाग्छ ।

नेपालको पूर्वी जिल्ला इलामको माइबेनीमा माघे सङ्क्रान्तिका दिन विशेष मेला लाग्दछ । यस मेलामा चीन तथा भारतबाट समेत मेला हेर्न मानिसहरु आउने गर्दछन् । यस मेलामा धान नाच, चण्डी नाच, बालन, सङ्गिनी, मारुनीजस्ता परम्परागत नाचहरु हेर्न पाइन्छ ।

यसै गरी झापाको कन्काइ नदीमा यो मेला भव्य हुने गर्दछ । यहाँ पनि नेपालीमात्र नभइ भारतका सिलिगुडी, दार्जिलिङ, सिक्किमलगायतका क्षेत्रका मानिसहरु आइ कन्काइ नदीमा नुहाइ, पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाली भाकल गर्ने गर्दछन् ।

सुनसरीको प्रसिद्ध तीर्थस्थल बराह क्षेत्रमा पनि माघे सङ्क्रान्तिका दिन असङ्ख्य भक्तजनहरुको आगमन हुन्छ । कोशी नदीमा नुहाएर भगवान बराहको दर्शन गरेमा मोक्ष मिल्ने मान्यता छ ।

पूर्वी तराईमा बसोबास गर्ने मैथिली समुदायले माघे सङ्क्रान्तिलाई तिला सङ्क्रान्तिको रुपमा मनाउँछन् । यस दिन घरका अग्रजहरुले आफ्ना सन्ततीलाई सख्खर, तिल, भुजाको लड्डु आदि खुवाइ बुढेसकालमा सेवा गर्नुपर्ने वचन लिन्छन् । यसदिन खिचडी, तिल, भुजा तथा चिउराको लड्डु आदि परिकार बनाएर घरका देवी देवता तथा मन्दिरमा गइ भगवतीलाई चढाइन्छ । घरलाई पनि यस दिन विशेष सिङ्गार्ने चलन छ ।

नुवाकोट जिल्लाको तारुकामा माघे सड्ड्क्रान्तिका दिन गोरु जुधाइ मेलाको आयोजना हुने गर्छ । प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन लाग्ने यस मेलामा टाढा–टाढाबाट मानिस आउँछन् । यस मेलाले नुवाकोटको इतिहासलाई जीवन्त राख्न मद्दत गरेको छ ।

नेपालका दैलेखलगायतका पश्चिमी जिल्लाहरुमा यस पर्वलाई पूर्वी जिल्लाहरुमा भन्दा फरक किसिमले मनाइन्छ । पश्चिमी क्षेत्रमा माघी पर्वलाई चेलीत्यार भन्ने चलन छ । चेलीहरुको तिहार भन्ने यसको अर्थ हो ।

पुस मसान्तको दिन वनमा गएर तरुल खनेर ल्याइन्छ । मसान्तको दिन रातभर सेलरोटी, बाबर, तरुललगायतका परिकारहरु बनाइ कागको लागि भाग छुट्टयाएर मात्र परिवारमा बाँडेर खाइन्छ । विवाह भएका चेलीहरुलाई माघे सङ्क्रान्तिको दिन बोलाएर खाने परिकारहरु दिनुपर्छ । यस दिन नसके पनि माघ महिनाको कुनै न कुनै दिन दिनुपर्छ ।

यसैगरी भारतको कुमाउतिर यस पर्वलाई घुघुतीको त्यार भनिन्छ । यस दिन गहुँको पिठोलाई पानीमा मुछेर घुघुति बनाएर घाममा सुकाइ राति तेलमा पकाइन्छ । पश्चिम नेपालमा जस्तै भोलि बिहान कागलाई बोलाएर घुघुति खान दिने चलन छ ।

यस्तै पाल्पाको तानसेनदेखि ३६ किलोमिटर पश्चिम–दक्षिणमा पर्ने रुरु रिडी क्षेत्रमा पनि यो पर्वको विशेष रौनक हुन्छ । तीन दिनसम्म विशेष मेला लागे पनि माघ महिनाभर यस क्षेत्रमा भक्तजनहरुको घुइँचो लाग्दछ । तनहुँ, चितवन र नवलपरासी जिल्लाको सङ्गम क्षेत्र देवघाटमा पनि यस दिन विशेष मेला लाग्छ । भारतका विभिन्न तीर्थहरुको भन्दा यस तीर्थको विशेष महिमा रहेको हुनाले यस दिन देवघाटमा ठूलो मेला लाग्दछ ।

थारु समुदायमा यस पर्वलाई माघीको रुपमा मनाइन्छ । यस समुदायमा यस दिन मासको दाल र चामल मिसाइएको खिचडीलाई माघी पर्वको विशेष परिकारको रुपमा खाने चलन छ । माघीमा नाचिने विशेष घौटा नाच र धमार गाउने प्रचलन निकै लोकप्रिय छ । यस दिनलाई नयाँ आर्थिक वर्षको रुपमा मान्नेदेखि विशेष घरसल्लाह गर्ने र आफ्नो समुदायको अगुवा चुन्ने दिनको रुपमासमेत लिइन्छ ।

यसरी नेपालभर सबैले आ–आफ्नो परम्परा र संस्कृतिअनुसार यस पर्वलाई मनाउने भएकाले नै यो पर्व नपालीहरुमा अझै लोकप्रिय बनेको छ । यसले आपसी भाइचारा, सामाजिक सद्भाव, पारिवारिक मेलमिलापलगायत विभिन्न दृष्टिमा समाजलाई जोड्ने काम गरेको छ ।