प्रहरीमा चरम राजनीतिक हस्तक्षेप, दुई सातादेखि चितवन एसपी विहिन

काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप चरम अवस्थामा पुगेको छ । कतिसम्म भने राजनीतिक हस्तक्षेपकै कारण कतिपय जिल्लाहरु नेतृत्व विहिन बन्न पुगेका छन् ।

सरुवा विवादका कारण प्रचण्डको गृहजिल्ला चितवन यतीबेला एसपीविहिन बनेको छ । तीन साताअघि प्रहरी प्रधान कार्यालयले चितवनका एसपी दानबहादुर मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरि गंगा पन्तलाई चितवन पठाउने निर्णय भएको थियो । प्रहरी महानिरीक्षकबाट भएको यो निर्णय कार्यान्वायनमा हुन सकेको छैन । १२ घन्टे ताकेता लगाएपछि एसपी मल्लले चितवन छाडेका छन् तर पन्त चितवन जान पाएका छैनन् । किनकी प्रचण्ड परिवारले उनको सरुवालाई स्वीकृत गरेको छैन ।
अचम्म त के छ भने तीन सातासम्म चितवन जाने अर्काे एसपीको अझै तय हुन सकेको छैन । किनकी यो प्रहरी महानिरीक्षकको हातमा छैन । एसपी पन्तलाई अस्वीकार गरेपछि अन्य एसपीहरु चितवन जाने दौडधुपमा छन् । प्रचण्ड परिवारलाई खुशी बनाएर ती एसपीहरु चितवन जाने दौडमा छ ।
‘प्रहरीमा यस्तो अराजकता कहिल्यै देखिएको थिएन,’ एक उच्च प्रहरी अधिकारी भन्छन्,‘यो प्रहरी महानिरीक्षकको असक्षमता हो, कि सुरुकै सरुवामै उनले प्रचण्डको सहमति गराउन सक्नुपथ्र्याे, नत्र अहिलेसम्म अर्का एसपीलाई पठाइसक्नुपर्ने थियो ।’ प्रहरी महानिरीक्षकको कार्यकुशलताकै अभावमा यस्तो समस्या भएको प्रहरी अधिकारीहरु बताउँछन् । प्रचण्डकै जोडबलमा आईजिपी भएकाले पनि उनले कुनै स्ट्यान्ड लिन नसकेको बताइन्छ ।
यसअघि चितवनका एसपी मल्ल प्रचण्डकै पिएसओ बसेको आधारमा चितवनमा सरुवा भएका थिए । उनको कार्यकालमा चितवनमा प्रहरी अनेक काण्डमा फस्यो । सरुवा हुँदा पनि त्यसलाई अस्वीकार गरी चेन अफ कमाण्डलाई नै उनले सिधैं चुनौती दिएका थिए ।
विगतमा प्रचण्ड परिवारकै कारण दीपक थापा चितवनको एसपी भएका थिए । त्यतीबेला उनले प्रचण्ड पुत्री रेणु दाहाललाई जिताउन सक्दो प्रयास गरे । तत्कालिन एमालेका उम्मेदवार देवी ज्ञवालीलाई षड्यन्त्र गरी हराएर रेणुलाई जिताउन उनको ठूलो योगदान थियो । त्यहीकारण प्रहरी नियमावली नै संशोधन गराएर थापालाई एसएसपीमा बढुवा गरिएको थियो ।
अहिले यसरी प्रचण्ड परिवारले जे भन्यो त्यही मान्ने एसपीलाई पठाए जिल्लामा पुलिसिङ खस्कने निश्चित छ । जसले प्रहरीप्रति जनताको विश्वास झन् गुम्ने अवस्था छ । by. dristinews