किन झापामा चिया खेती मासिँदै छ त ? यस्तो छ कारण !

झापा । झापामा पछिल्लो समय साना चिया किसानले धमाधम चिया बगान मास्न थालेका छन् । सरकारले चियाखेतीमा दिँदै आएको मल र नगद अनुदान कटौती गरेपछि यस्तो अवस्था आएको हो ।

‘जीवनभर घाटाको व्यवसाय गर्न सकिँदैन’, हल्दिबारी गाउँपालिका ३ का चिया व्यवसायी श्रीप्रसाद मैनालीले भन्नुभयो, ‘समयमा मल पाइँदैन, भाउ छैन्, मजदुर पनि मुस्किलले भेटिन्छन् । प्रतिकेजी पाँच रुपैयाँ घाटा खाएर अब बगान जोगाउन सकिँदैन । ’

मैनालीका अनुसार सरकारले उपलब्ध गराउदै आएको मल उपलब्ध गराएको छैन् । खरिद गर्न बजारमा मल नै छैन् । यसरी कसरी किसानले चिया खेतीबाट जीवन निर्वाह गर्न सक्छन् ?’, उहाँले प्रश्न गर्नुभयो । मैनालीले १६ बिघा क्षेत्रफलमा चियाखेती लगाउनुभएको थियो । गत वर्षदेखि उहाँले चिया खेती मास्न सुरु गर्नुभयो ।

झापामा साना चिया किसानको संख्या एक हजार दुई सय मात्र छ । यसमध्ये आठ सय साना चिया किसान हल्दिबारी गाउँपालिका भित्रै छन् । हल्दिबारी गाउँपालिका भित्रका साना चिया किसान अन्य खेतीतर्फ लाग्दै छन् ।

स्थानीय सहतलाल राजबंशीले आफ्नो पाँच बिघा क्षेत्रफलको चिया उखेलेर धान र तोरी खेती लगाउनुभएको छ । यसैगरी १४ बिघा क्षेत्रफलमा चिया लगाउनुभएका सरोज बिमलीले यो वर्ष दुई बिघाको चिया उखेलेर उक्त ठाउँमा तोरी लगाउनुभयो ।

स्थानीय रामहरि थापाले पनि चिया मासेर अरु नै प्रयोजनका लागि आफ्नो जमिन प्रयोग गर्ने सोच बनाउनुभएको छ । स्थानीय दीपेन्द्र भट्टलाईले पाँच बिघा क्षेत्रफलको चिया बगान मासिसक्नु भएको छ । ‘मुख्य कुरा हरियो पत्तिको मूल्य बढ्ला भन्यो घट्दो दरमा छ’, सहतलाल राजबंशीले भन्नुभयो, ‘प्रतिकेजी मुस्किलले १० रुपैयाँ फ्याक्ट्रीले दिन्छ । तर, कृषकको प्रतिकेजी लगानी १५ रुपैयाँ पर्न जान्छ । सधैँभरी ढाकछोप गरेर घाटा खाएर कसरी व्यवसाय गर्न सकिन्छ ?’

साना चिया किसान मात्र नभई ठूला चिया उद्योगको समस्या पनि मल र अनुदानमा गएर अड्किएको छ । पाँच अर्ब रुपैयाँ विदेशी मुद्रा भित्र्याउदै आएको चिया क्षेत्रको सिंगो बिकास र प्रवर्धनमा सरकारी बेवास्ता र लापर्वाहीले किसान निराश हुन थालेको चिया उद्यमी यामबहादुर क्षेष्ठले बताउनुभयो ।

हरेक कुरामा ‘सुपर जोन’ जिल्लाको रूपमा घोषणा भएको झापामा सबैभन्दा लामो इतिहास र क्षेत्रफल ओगटेको चिया क्षेत्रबारे भने कुनै प्राविधिक विज्ञ ज्ञान केन्द्रमा नभएको चिया उद्यमी रविचन्द्र नेपाल बताउनुहुन्छ ।

सरकारले चिया कृषकलाई उपलब्ध गराउदै आएको सेवासुविधाहरु कटौटी गर्दे लौजादा गर्दा चिया कृषक अन्य व्यवसायप्रति आकर्षित हुने क्रम सुरु भएको छ । उहाँको प्रश्न थियो, ‘न चियामा रोग लाग्दा औषधी अनुदान छ, न मल हाल्न पाइन्छ । अनि कृषकले घाटामा कसरी चियाखेती गर्न सक्छन् ?’ झापामा मात्र ५० हजारभन्दा बढी चिया मजदुर र २० भन्दा बढी चिया उद्योग छन् ।