इरानमा अमेरिकी आक्रमणको असर नेपालसम्म, सुन, इन्धन र डलरको भाउ बढ्यो, मूल्य बृद्धि अझै बढ्ने

काठमाडौं। इरान यतिखेर शोकमा छ। अमेरिकाले इराकको बग्दादमा आफ्ना सैन्य जनरलमाथि रकेट आक्रमण गरेर ‘हत्या’ गरेपछि इरान शोकलाई शक्तिमा परिणत गर्ने रणनीति बनाउँदैछ।

शुक्रवार भएको आक्रमणमा जनरल कस्सिम सोलेमानीसँगै ६ जनाको मृत्यु भएको थियो। अमेरिकाले इरानी सेनाको एक समूह ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प’लाई ‘आतंकवादी संगठन’ घोषणा गरेको थियो। यो कर्पका प्रमुख थिए कस्सिम।

कस्सिमको शव इरानको अभाज सहर पुगेपछि इरानीहरूले आफ्ना ‘रकस्टार’ जनरललाई अन्तिम श्रद्धाञ्जली दिएका छन्।

इरान बद्ला लिने मुडमा छ भने अमेरिका इरानलाई दबाएर फेरि आफ्नो शक्तिको प्रदर्शन गर्न खोज्दैछ। ‘इगो’ र दम्भको बाछिटा पाकिस्तान र भारत हुँदै नेपालसम्म आइपुग्ने छ।

इरानसँग हाम्रो ठूलो ब्यापार खासै केही पनि छैन। भन्सार विभागको तथ्यांकअनुसार, पछिल्लो पाँच महिनामा नेपालले एक लाख ३१ हजार रूपैयाँको वस्तु आयात गरेको छ।

इरानसँग प्रत्यक्ष सम्बन्ध नभएपनि भारतका कारणले नेपाली अर्थतन्त्रमा असर पर्ने देखिएको छ। किनभने भारतले इरानको कच्चा तेल प्रयोग गर्छ र भारतले प्रशोधन गरेपछि नेपालले त्यसलाई आयात गर्छ।

भारतका लागि कच्चा तेल उपलब्ध गराउने चार प्रमुख देश छन्- इरान, इराक, साउदी अरेबिया र भेनेजुएला। इरान युद्धको मुडमा पुगेपछि कच्चा तेलको मूल्य बिस्तारै उक्लिन थालेको छ। अमेरिकी आक्रमणसँगै शुक्रबारबाट तेलको मूल्य बढ्न थालेको छ। एकै दिन साढे ४ प्रतिशतले बढेर ६९.२३ अमेरिकी डलर पुगिसकेको छ।

प्रशोधित पेट्रोलियमको कच्चा पदार्थ नै महँगिएपछि नेपाली अर्थतन्त्रलाई पनि त्यसले असर गर्ने छ। गत साता मात्रै भारतले बढेको मूल्यसूची पठायो भन्दै नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइसकेको छ ।

कच्चा तेलको मूल्य बढ्नुको अर्थ हो अन्य क्षेत्रको पनि भाउ बढ्नु। नेपाली अर्थतन्त्रको उर्जाको प्रमुख स्रोत पेट्रोलियम पदार्थ हो। पेट्रोलियमको भाउ बढेमा मालवस्तु ढुवानीको मूल्य बढ्ने छ। कतिपय अवस्थामा उत्पादन लागत नै बढ्ने छ। विभिन्न विकास परियोजनाहरू डिजलका भरमा अगाडि बढिरहेका छन्, त्यसको लागत पनि बढ्ने छ। साथै स्टील, सिमेन्टजस्ता कारखानाका उत्पादन लागत पनि वृद्धि हुने छ।

विश्वमा जब अशान्ति बढ्न थाल्छ, त्यसबेला लगानीकर्ताहरु सुरक्षित बाटो समात्न खोज्छन्। त्यो भनेको सुनको मौज्दात बढाउने। त्यही भएर अहिले सुनको भाउ बढ्न थालेको छ। नेपालमा सुन अहिलेसम्मकै महँगो भएको छ। पुस सकिने बित्तिकै बिहेबारीको मौसम सुरु हुने छ, त्यसबेला सुन किन्नेले बढि पैसा तिर्नुपर्ने हुन्छ।

आयातमा निर्भर अर्थतन्त्र भएका कारण नेपालको वित्तीय घाटा फेरि बढ्न सक्ने छ। जस्तो अहिले शोधनान्तर बचत बढ्दै गएको छ। चालु खाता घाटा केही कम भएको छ। आयात बृद्धि दर नै घटेको छ। इरान र अमेरिकाको लफडाले विदेशी मालवस्तु महँगो भएर आयातमा बढि खर्च गर्नुपर्ने हुनसक्छ। यसो हुँदा नेपालको शोधनान्तरमा दबाब पर्ने छ। साथै विदेशी मुद्राको सञ्चिति पनि घट्न सक्ने छ।

इरान-अमेरिकाको द्वन्द्वको असर नेपाली रूपैयाँमा पर्न थालिसकेको छ। लामो समयदेखि ११३/११४ रूपैयाँ हाराहारी रहेको एक अमेरिकी डलरको मूल्य एकैदिन ११५ रूपैयाँ पुगिसकेको छ। तर निर्यात गर्नेहरूलाई भने यसले फाइदा पुर्‍याउने छ। अहिले पनि निर्यात ब्यापार बिस्तारै सुधार देखिन थालेको छ।