रत्ननगरको जमुनापुरमा हेल्प सोसाइटीको तीन तले बहुउद्देश्यीय भवन निर्माण हुँदै

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ जमुनापुरमा बहुउद्देश्यीय भवन निर्माण सम्पन्न हुने क्रममा रहेको छ । जमुनापुर हेल्प सोसाइटीले निर्माण गर्न लागेको सो भवन मार्फत् बहुउद्देश्यीय कार्यहरु गरिने संस्था अध्यक्ष रविन्द्र जङ्ग थापाले जानकारी दिए ।

करिव ६ करोड रुपैयामा निर्माण सम्पन्न हुने बहुउद्देश्यीय भवनको करिव ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । हालसम्म सो भवन निर्माणका लागि स्थानीय सहयोगीदाता तथा संघ संस्थाहरुबाट करिव १ करोड रुपैया संकलन भएको छ । रत्ननगर नगरपालिकाबाट १७ लाख, जिल्ला समन्वय समिति चितवनबाट १ लाख २५ हजार, कालिका नगरपालिकाबाट १ लाख सहयोग प्राप्त भएको छ । त्यसैगरी रोटरी क्लव अफ काठमाडौँ नर्थबाट १३ लाख, जनता बैंकबाट १ लाख ५० हजार सहयोग प्राप्त भएको छ । त्यसैगरी प्रदेश नं. ३ सरकारबाट ३० लाख प्राप्त भएको छ । त्यस्तैगरी संस्थाका संरक्षक राज थापाबाट रु. ५० लाख सहयोग भएको संस्थाका सचिव विनोद अधिकारीले जानकारी दिए ।

भवन मार्फत् के के काम हुन्छन् त ?
संस्थाको आफ्नो २ कठ्ठा जग्गा रहेको छ । सो मध्ये करिव १ कठ्ठा जग्गामा बहुउद्देश्यीय भवन निर्माण भइरहेको छ । भवन वरपर बगैँचा र पार्किङ रहनेछ । भवनको पहिलो तलामा स्थानीय शिवधारा दुग्ध उत्पादक सहकारी संस्थाको कार्यालय रहनेछ । त्यस्तैगरी सोही तलामा सुविधा सम्पन्न इ–लाइब्रेरी रहनेछ भने दैनिक रुपमा फ्रि हेल्थ क्लिनिक र आकस्मिक स्वास्थ्य सेवाको सुविधा समेत हुने शिवधारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवम् सोसाइटीका सल्लाहकार मथुरा थापाले जानकारी दिए ।

संस्थाको दोश्रो तलामा सोसाइटीको कार्यालय तथा विभिन्न तालिम संचालनको लागि २ वटा सुविधा सम्पन्न हल रहने छन् भने स्थानीय सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाको कार्यालय समेत रहने सहकारीका अध्यक्ष एवम् संस्थाका सल्लाहकार राजेन्द्र बहादुर थापा मगरले जानकारी दिए । संस्थाको तेश्रो तलामा सुविधा सम्पन्न गेष्टरुमका साथ साथै ठूलो सभाहल समेत रहनेछ ।

संस्थाले गरेका गतिविधिहरु
जमुनापुर हेल्थ सोसाइटीको सहयोगमा स्थानीय राष्ट्रिय आधारभूत विद्यालय जमुनापुर ‘क’ मा दिवा खाजाको व्यवस्था गरिएको छ । सो खाजाको कारणले स्थानीय विपन्न विद्यार्थीहरु स्कुल आउन निरन्तरता भएको सोसाइटीका उपाध्यक्ष रमेश बाबु कट्टेलले बताए । सो विद्यालयमा १ सय २५ जना विद्यार्थीहरु अध्ययनरत छन् । ती विद्यार्थीहरुलाई किताव राख्ने झोला, कापी, कलम र जाडोको न्यानो कपडा समेत उपलब्ध गराइदै आएको छ । उनीहरुलाई पढ्न सहज होस् भनेर सोलार लाइट समेत उपलब्ध गराइएको कट्टेलले जानकारी दिए । संस्थाले हरेक वर्ष खुल्ला रक्तदान कार्यक्रम, निशुल्क आँखा शिविर, दन्त शिविर, वृक्षारोपण कार्यक्रम समेत गर्दै आएको छ । रत्ननगर १३ मा रहेको श्रीराम वैदिक गुरुकुलमा खाद्यान्न समेत गर्दै सहयोग गर्दै आएको संस्थाका कोषाध्यक्ष सुजिन्द्र बहादुर थापाले जानकारी दिए । संस्था मार्फत् स्थानीय २ जना विपन्न जेहेन्दार विद्यार्थीलाई स्थानीय सगरमाथा आवासीय मा.वि. मा अध्ययनको व्यवस्था मिलाई एसईईसम्म संस्थाको लगानीमा पढाइएको थियो ।

रत्ननगर १२ जमुनापुर घर भई हाल जर्मनी बस्दै आएका संस्थाका संरक्षक राज थापा तथा श्रीमती कृष्टा थापाले सोसाइटीको लागि सक्दो सहयोग गर्ने बताएका छन् । आफ्नो तर्फबाट सोसाइटीको लागि सहयोग गर्दै आएको र अझै थप सहयोग गर्ने संरक्षक थापाले बताए ।

हाल संस्थाको भवन निर्माण गर्ने क्रममा करिव साढे ३ करोड रुपैया नपुग भएकोले देश विदेशमा रहने सबै सहयोगीदातालाई सहयोग गरिदिन आर्थिक व्यवस्थापन समितिका संयोजक शिवराम केसीले अनुरोध गरेका छन् । स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारबाट पनि थप सहयोगको अपेक्षा गरिएको उनले बताए ।

सो भवन मार्फत् स्थानीयवासीहरुले विभिन्न सुविधाहरु लिन सक्ने भएकोले थप सहयोग गरी भवन छिटो भन्दा छिटो सम्पन्न गर्न सवैको साथ र सहयोगको आशा गरिएको भवन निर्माण समितिका संयोजक दिपेश्वर केसीले बताए ।

सो जमुनापुर हेल्प सोसाइटीको भोली शनिबार ५औ बार्षिक साधारण सभा हुँदै छ ।