अवैध मुना सहकारी काण्ड: खोलेसिमल शाखा संचालनमा कालिकाका मेयर श्रेष्ठकै संरक्षण ?

चितवन । भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा मुख्य कार्यालय रही कालिका ६ खोलेसिमल बजारमा गैरकानुनी रुपमा शाखा कार्यालय संचालन गर्दै आएको मुना बचत तथा ऋण सहकारी संस्था लि. लाई कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले नै संरक्षण गरेको पाइएको छ ।

सो मुना सहकारीले करिव डेढ वर्ष अगाडि देखि खोलेसिमल बजारमा सम्पर्क कार्यालय भन्दै गैरकानुनी रुपमा शाखा कार्यालय संचालन गरेपनि नगर प्रमुख श्रेष्ठले कारवाही गर्नुको सट्टा सहकारीको बचाउ र संरक्षण गर्दै आएको पाइएको हो ।

कुनै पनि सहकारीले एकभन्दा बढी नगरपालिका क्षेत्रमा कार्यालय संचालन गर्नुपरेमा प्रदेश सरकारबाट अनुमति लिनुपर्ने भएपनि सो मुना सहकारीले प्रदेश सरकारबाट अनुमति नै नपाउँदै खोलेसिमल बजारमा शाखा कार्यालय संचालन गरिरहेको छ । सहकारीको अवैध शाखा संचालनको समाचार सञ्चारमाध्यममा आएपछि कालिका नगरपालिकाका नगर प्रमुख श्रेष्ठले अवैध सहकारीको छानविन र कारवाही त कता हो कता उनले सो सहकारी वैधानिक भएको भन्दै विज्ञप्ती समेत निकालेका छन् ।

व्यवसाय दर्ता ऐन अन्तर्गत सहकारीको शाखा कार्यालय खोल्न दिने कुनै अधिकार वडा र नगरलाई नभएपनि नगर प्रमुखले सो सहकारीको बचाउ गरी यसरी नगरपालिकाको लेटरप्याड समेत दुरुपयोग गरेको पाइएको छ । सो खोलेसिमल बजारमा अन्य सहकारीहरुले भने प्रदेश सरकारबाट अनुमति लिएपछि मात्र शाखा कार्यालय संचालन गर्दै आएका छन् ।

मेयर श्रेष्ठले नै प्रदेश सरकारको अधिकारको समेत हस्तक्षेप गर्नु कानुनी राज्यको उपहास भएको स्थानीय सहकारीकर्मीहरु बताउँछन् । सो मुना सहकारीको पक्षमा नगर प्रमुख श्रेष्ठले विज्ञप्ती जारी गर्नु र कानुन विपरीत सहकारी संचालन गर्न दिएकोमा जिल्ला तथा स्थानीय सहकारीकर्मीहरु तथा स्थानीयहरुले मेयरको क्रियाकलापले आश्चर्यमा परेको बताएका छन् । सो मुना सहकारीको सन्दर्भमा भरतपुर महानगरपालिकाको पहलमा एक छानविन समिति बनेपनि सो समितिले सहकारीको यथार्थ अवस्था भने हालसम्म बाहिर ल्याउन सकेका छैनन् । सो सहकारीको अवैध शाखा संचालन, गैरकानुनी कारोवार र बचतकर्ताको रकम जोखिममा परेको भन्दै विभिन्न सञ्चारमाध्यममा पटक पटक समाचारहरु प्रकाशित भइसकेका छन् ।
स्मरणरहोस्, यस अगाडि पनि नगर प्रमुख श्रेष्ठले नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत रामराज सुवेदीले ५ हजार रुपैया घुस खाएको समाचार प्रकाशित भएपछि छानविन र कारवाही गर्नुको साटो बचाउ गरेका थिए भने नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुले नगरपालिकाको लेटरप्याड दुरुपयोग गरी विज्ञप्ती जारी गर्दा समेत नगर प्रमुख मुकदर्शक भई बसेका थिए ।

त्यस्तै पानीको मुहान सुकाएर क्रसर उद्योग संचालनको लागि गिटी बालुवा संकलन गर्न दिएको प्रति पनि स्थानीयले मेयर श्रेष्ठको क्रसर उद्योगमा संलग्नता भएको आरोप लगाएको विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएका थिए । त्यस्तैगरी खोला दोहनमा समेत मेयर श्रेष्ठले चासो नदिई ठेकेदारसँग मिलेमतो गरेको समेत उनलाई स्थानीयले आरोप लगाएका विभिन्न संचारमाध्यमहरुमा समाचार प्रकाशन र प्रशारण भएका थिए ।