यूनिक सहकारीको एकैदिन खोलेसिमल र पर्सा बजारमा सदस्य सेवा केन्द्र उद्घाटन (हेर्नुहोस फोटाेहरु)

चितवन । रत्ननगर २ मेनरोड टाडी बजारमा मुख्य कार्यालय रहेको यूनिक बचत तथा ऋण सहकारी संस्था लि. ले आज एकैदिन दुई स्थानबाट आफ्नो सदस्य सेवा केन्द्र संचालनमा ल्याएको छ । पूर्वी चितवनको खैरहनी ८ पर्सा बजार र कालिका ६ खोलेसिमल बजारमा सो सहकारीले कारोवार सुरु गरेको हो ।

वि.सं. २०६५ सालमा स्थापना भएको सहकारीको यस अगाडि नै नारायणगढ बजार, जयमंगला र पदमपुरमा सेवा केन्द्र संचालनमा आइसकेको छ । सहकारीले यसै आर्थिक भित्र रत्ननगरको पिठुवा र सौराहामा पनि सेवा केन्द्र संचालन गर्ने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले बताए ।

संस्थाको हाल कुल सम्पत्ति १ अर्ब ११ करोड २१ लाख रुपैया रहेको छ भने शेयर पूँजी ९ करोड ९४ लाख रहेको छ । त्यस्तै सो संस्थाको जगेडा तथा संस्थागत कोष ७ करोड ७४ लाख, बचत संकलन ८४ करोड २७ लाख रहेको र ऋण लगानी ८४ करोड ३० लाख रहेको लामिछानेले जानकारी दिए । संस्थाको गत असोज मसान्तमा १२ करोड ८८ लाख तरलता रहेको छ भने कुल आम्दानी ५ करोड ३१ लाख र कुल खर्च ३ करोड ७० लाख रहेको छ ।

त्यस्तै संस्थाको संचालन मुनाफा १ करोड ६१ लाख रहेको समेत प्रमुख कार्यकारी अधिकृत लामिछानेले जानकारी दिए । हाल संस्थाका विभिन्न शाखाहरुमा गरी ३० जना कर्मचारी रहेको र संस्थाका ७ हजार ८ सय २३ जना शेयर सदस्य रहेको समेत उनले जानकारी दिए । सो संस्थाको आज आयोजित पर्साको सदस्य सेवा केन्द्र उद्घाटन कार्यक्रम खैरहनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष टेक बहादुर थापाले गरेका थिए । संस्थाका संचालक समिति सदस्य सुरेन्द्र नाथ रेग्मीको अध्यक्षतामा सो सेवा केन्द्र उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

त्यसैगरी संस्थाको खोलेसिमल सेवा केन्द्रको उद्घाटन कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले गरेका थिए । सो कार्यक्रममा संस्थाका संचालक समिति सदस्य भिष्मराज न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष एवम् खोलेसिमल केन्द्रका प्रमुख प्रेमकृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार यादव प्रसाद पाठक, संस्थाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो सहकारीले प्रदेश सरकारबाट अनुमति लिई सेवा केन्द्र संचालन गरेको हो । सो सहकारी संस्थाको हाल रत्ननगरको टाँडी बजारमा आधुनिक ४ तले भवन निर्माण भइरहेको र छिट्टै नै सो आफ्नै भवनबाट कारोवार थाल्ने समेत बताइएको थियो ।