तत्कालीन पर्यटनमन्त्री रवीन्द्रको पत्नि मात्रै होइनन् विद्या भट्टराई

पाेखरा । विद्या भट्टराई निःसन्देश हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन्। उनको निधन पछि रिक्त रहेको कास्की–२ मा उपनिर्वाचनमा विद्या उम्मेदवार बन्दै कांग्रेस उम्मेदवारलाई लामो मतअन्तरले हराउँदै विजयी भइएकी छन् ।

धेरैलाई यो लाग्न सक्छ कि विद्या पति रवीन्द्रको निधनपछि मात्रै राजनीतिमा आएकी हुन् र रवीन्द्रको पत्नी भएका कारण उनलाई नेकपाले टिकट दिएको हो। खासमा त्यस्तो होइन, विद्या विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन्।

विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दागर्दै सहकर्मी रवीन्द्र अधिकारीसँग उनको विहे २०५५ सालमा भएको थियो। विहेपछि भने उनी राजनीतिबाट ओझेल परिन्। र कलेजमा प्राध्यापन गर्नतिर लागिन्।

तत्कालीन अनेरास्ववियुमा रवीन्द्र अग्रज थिए, उनी रवीन्द्रकी कार्यकर्ता। राजनीतिमा सँगसँगै रहँदा दुवैले २०५५ सालमा विहे गरे पनि रविन्द्रलाई नै सजिलो होस् भनेर विद्या राजनीतिबाट विस्तारै ओझेल परेकी थिइन्।

अनेरास्ववियुको केन्द्रीय सचिवदेखि सोही संगठनको महिला विभाग प्रमुखको जिम्मेवारी लिएर काम गरेकी थिइन्। २०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्या क्याम्पसको स्ववियु सभापतिकी प्रत्यासी थिइन् तर जित्न भने सकिनन्। विद्यापछि ममता गिरी र रामकुमारी झाँक्री पद्मकन्याको स्ववियु सभापतिका उम्मेवार बनेका थिए। कांग्रेस निकट नेविसंघको पकड भएका कारण चुनाव भने कसैले जित्न सकेनन्।

विवाहपछि क्रमशः घर ब्यवहारले थिच्न थालेपछि उनको राजनीतिक यात्रा अघि बढ्न सकेन। दुई छोराहरु हुर्काउने र प्राज्ञिक योग्यता बढाउन उनी व्यस्त भइन्। समाजशास्त्रमा एमफील गरेकी विद्या उम्मेदवारी दिनुभन्दा केही दिनअघि सम्म प्राध्यापनमा गरिरहेकी थिइन्।

विद्या प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईकी बहिनी हुन्। रमाइलो त के छ भने २०५४ सालमा एमाले विभाजन हुँदा राजन एमालेतिर र विद्या मालेतिर लागेका थिए। रवीन्द्र पनि मालेतिर नै भएका कारण उनीहरूको हिमचिम थपिएको थियो।

लामो समयपछि राजनीतिमा फर्किएकी नेपाली राजनीतिमा निकै लामो वेग हानेकी छिन्। केहीले समवेदनाको भोट बटुल्न आएको भनेर आरोप लगाए पनि उनी विचलित नभई मतदाता रिझाउन लागिरहिन्।

राजनीतिक पृष्ठभूमि भएकाले पनि होला उम्मेदवार भएदेखि भन्दै विद्या भन्ने गर्थिन, ‘केहीले मलाई समवेदनाको भोट लिन आइ पनि भनेर आरोप लगाए। तर खासमा म योग्यता प्रदर्शन गर्न आएको हुँ, अब कास्केली जनताको सेवामा खटिने छु।’ नभन्दै उनले कास्की–२ का जनताले जिताएर प्रतिनिधिसभामा पठाएका छन्।