भारी मतका साथ कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

पोखरा । कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई   ८ हजार ४०९ मतान्तरले पराजित गर्दै उनले विजयी हासिल गरेकी  हुन् । भट्टराई २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन भने  पौडेलले १५ हजार ९८६ मत ल्याए ।

यता समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११ सय ५३ र साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएकी छन् ।

शनिबार राति १०:३० बजेदेखि सुरु भएकाे मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो । यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।

विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।