अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं ।गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको बढी शुल्क कलेजहरुले मंगलबारसम्ममा फिर्ता गर्न निर्देशन दिएको छ । फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो । अतिरिक्त शुल्क लिएर फिर्ता नगरेपछि देशैभरका चिकित्सा शिक्षाका विद्यार्थी अन्दोलित छन् ।

आइतबार पनि गृहमन्त्री थापा र शिक्षामन्त्री पोखरेलबीच शुल्क फिर्ता गराउने विषयमा छलफल भएको थियो । यसअघि सरकारले मेडिकल कलेजहरुलाई अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको म्या दिएको थियो । आइतबार उक्त समय सकिएको छ ।

गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेज विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको छ ।