प्रचलित :

चितवन। पछिल्लो समयमा फस्टाएको अनलाइन मिडियालाई प्रोत्साहनसँगै नियन्त्रण आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।अदव मिडिया नेटवर्क प्रालिले भरतपुरमा आज गरेको ‘पत्रकारिता तथा अनलाइन प्रोत्साहन सम्बन्धमा’ गरेको छलफल कार्यक्रममा चितवनका पत्रकारहरुले सो विचार राखेका हुन् ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले अखवारी पत्रकारिताले चितवनमा विभिन्न चरण पार गरे पनि अनलाइन पत्रकारिता भने पहिलो चरणमा नै रहेकोले यसको प्रशस्त सम्भावनाहरु रहेको विचार राखे । उनले भने, ‘युट्युबलाई पनि बैधानिक बाटोमा ल्याएर नियमन गर्दै जानुपर्छ ।’ उनले जेजस्ता विषयवस्तु मिडियाले प्रसारण गरेता पनि नागरिकको जनविश्वास प्राप्त गर्न सक्नु नै मिडियाको मुख्य आर्जन भएको बताए । उनले भने, ‘क्याम्पसहरुमा पत्रकारिता पढाइ हुने र पत्रकार महासंघ चितवनले पनि विभिन्न प्रयोगात्मक तालिमहरु प्रदान गरिरहेकोले चितवन मिडियाको विकासमा प्रशस्त सम्भावना बोेकेको ठाउँ हो ।’ चितवनका पत्रकारहरुले देश तथा विदेशमा जहाँ पुगेर पनि राम्रो गरिरहेको केन्द्रीय सदस्य गिरीले विचार राखे ।

कार्यक्रममा पत्रकार महासंघकी केन्द्रीय सदस्य सिर्जना अर्यालले पनि अनलाइनहरुको दर्ता गर्नलाई काठमाडौँ नै जानुपर्ने बाध्यता हट्नुपर्ने विचार राखिन् । उनले भनिन्, ‘पत्रकार महासंघले युट्युब तथा अनलाइनहरुको नियमनको लागि विशेष प्राथमिकता दिएको छ । दक्षिण एसियाका कतिपय देशहरुको लागि पनि नेपालको पत्रकार महासंघले गरेका कार्यहरु उदाहरणीय रहेको छ ।’

त्यस्तै कार्यक्रममा पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेलले नेपालमा एक हजार ५०० वटा अनलाइनहरु प्रेस काउन्सिलमा दर्ता भइसकेकोले पत्रकारहरुको क्षमता अभिवृद्धितर्फ ध्यान दिनुपर्ने विचार राखे । कार्यक्रममा पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारीले राससको समाचार संकलनमा आएको परिवर्तन र अग्रज पत्रकार तिलक रिमालले विगत दुई दशकमा चितवनमा प्रविधिले मारेको फड्कोको बारेमा विचार राखेका थिए ।

त्यस्तै पत्रकार रामबाबु सुवेदीले कार्टुनको ऐतिहासिक पृष्ठभूमिको बारेमा अवगत गराउँदै चितवनका मिडियाहरुले कार्टुन प्रकाशनलाई खासै प्राथमिकता दिन नसकेको गुनासो गरे । अदव मिडिया नेटवर्कका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसको आमसञ्चार विषयमा प्राध्यापक मधुसूदन दवाडीले युट्युबलाई नियमन गर्ने बारे जिज्ञासा राखे । पत्रकार तथा प्राध्यापक दिपेन्द्र अधिकारीले सहजीकरण गरेको कार्यक्रममा चितवनका पुराना र नयाँ पुस्ताका गरेर झण्डै ३० जना पत्रकारहरुको सहभागिता थियो ।

copt by. www.narayanionline.com

प्रतिक्रिया दिनुहोस !