देउसी भैलोको आम्दानीबाट टोल विकास संस्थाको लागि जग्गा खरीद

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ७ का युवाहरुले देउसी भैलोबाट संकलित रकमले टोल विकास संस्थाको भवन निर्माणको लागि जग्गा खरीद गरेका छन् । शान्ति नेपाल युवा क्लवको आयोजना तथा विजय टोल विकास संस्था र बाह्रघरे टोल विकास संस्थाको सहयोगमा तिहार पर्वको अवसरमा देउसी भैलो कार्यक्रम भएको थियो ।

कार्यक्रमबाट संकलित रकमले २ वटा टोल विकास संस्थाको भवन निर्माणको लागि जग्गा खरीद गरिएको हो । देउसी भैलोबाट रु. ७ लाख ३ हजार संकलन भएको थियो । सो मध्येबाट ५ लाख रुपैयामा १० धुर जग्गा खरीद गरिएको हो । बाँकी रकमबाट संस्थालाई आवश्यक पर्ने साउण्ड सिस्टम लगायतका सामग्रीहरु खरीद गरिएको र बाँकी रकम अन्य श्रोतबाट संकलन गरी संस्थाको भवन निर्माण गरिने बताइएको छ ।

देउसी भैलोमा स्थानीय समाजसेवी प्रेम बहादुर तमाङ एक्लैले ३ लाख ९६ हजार सहयोग गरेका थिए । देउसी भैलोमा सहयोग गर्नेहरुका लागि सम्मान तथा देउसी भैलो समापन कार्यक्रमको अवसरमा सहयोग दाताहरुलाई सम्मान समेत गरिएको थियो । बाह्रघरे टोल विकास संस्थाका अध्यक्ष होम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रेशम राना मगरले स्वागत मन्तव्य राखेको थिए ।

कार्यक्रमका प्रमुख अतिथि कालिका वडा नं. ७ का वडा अध्यक्ष डिल्लीराम दवाडी, पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव लामा, नेकपा कालिका वडा नं. ७ का अध्यक्ष तुल बहादुर विक लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।