फुटबल स्टार क्रिस्टियानो रोनाल्डो ७०० औं गोलकाे नजिक, सबैभन्दा बढी गोल गर्ने खेलाडीको किर्तिमानमा केही गोल बाँकी

काठमाडाैं । क्रिस्टियानो रोनाल्डो खेल जीवनको ७०० औं गोलका लागि एक गोल प्रहारमात्र टाढा छन् । युरो कप फुटबल छनोट खेलमा लक्जेमवर्ग विरुद्ध गोल गरेपछि उनी ७०० औं गोल नजिक पुगेका हुन् ।

गएराति भएको खेलमा फुटबल स्टार रोनाल्डोले पोर्चुगलका लागि दोस्रो गोल गर्दै करिअरकै ६९९ औं गोल गरे । आफ्नो देशका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीको किर्तिमान बनाउनबाट केही गोल मात्र बाँकी छ ।
जुभेन्टसबाट खेलिरहेका रोनाल्डो पछिल्लो समय फर्ममा छन् । उनले अब एक गोलमात्र गरेमा ७०० गोल गर्ने सँसारका छ खेलाडीमध्येमा पर्नेछन् ।

छनौट चरण अन्तर्गत शुक्रबार राति भएको समूह बी अन्तर्गतको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको पोर्चुगलले लग्जेम्बर्गमाथि ३–० को जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जिताउन बर्नार्डो सिल्भा, क्रिष्टियानो रोनाल्डो र गोन्सालो गेइडेसले गोल गरेका थिए ।

१६ औँ मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको पोर्चुगलले दोस्रो हाफमा दुई गोल गरेको हो । ६५ औँ मिनेटमा रोनाल्डो तथा ८९ औँ मिनेटमा गोन्सालोले गोल गरेपछि पोर्चुगल ३–० ले विजयी भयो ।

पोर्चुगल पाँच खेलबाट ११ अंकसहित समूहको दोस्रो स्थानमा छ । लिथुवानियालाई २–० ले पराजित गरेको युक्रेन ६ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । पोर्चुगल तेस्रो स्थानको सर्बिया भन्दा चार अंकले अघि छ । पोर्चुगलले आउँदो सोमबार युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ ।