आन्दोलन अझै रोकिएन, मेडिकल कलेजमा शुल्क लफडा : किन मौन छ शिक्षा मन्त्रालय ?

काठमाठौं । चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमले तोकेको शुल्क भन्दा कलेजले बढी शुल्क लिएका भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरेको आन्दोलन अझै रोकिएको छैन ।

सरकारले एमबीबीएस पढ्न विद्यार्थीहरुलाई काठमाडौं बाहिर ४३ लाख ४५ हजार र काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ । त्यस्तै नर्सिङ पढ्न ७ लाख ४८ हजार तोकेको छ ।शैक्षिक शुल्क बाहेकका अन्य शीर्षकमा राखेर कलेजले ६ लाखसम्म असुलेको छ । मेडिकल कलेज सञ्चालकहरुले भने कम्युनिटी, होस्टेल, खाना लगायतका शीर्षक देखाएर शुल्क लिएका छन् ।

यही अन्तरविरोधमै अल्झिएर २ सातादेखि चितवन मेडिकल कलेजमा आन्दोलन चर्किरहेको छ । उता पोखरा स्थित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुसँग समेत कलेजले बढी शुल्क लिएको भन्दै गत माघमा ५४ दिनसम्म आन्दोलन गरेका थिए । त्यसपछि सरकारले कलेजलाई विद्यार्थीबाट लिएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएसँगै आन्दोलन रोकिएको थियो । तर, अहिले ८ महिना पुग्दासम्म पनि कलेजले लिएको बढी शुल्क फिर्ता नभएपछि बुधबारबाट पुनः विद्यार्र्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

चितवन मेडिकल कलेजको बिषयमा सरकारले कुनै सुनुवाई नै गरेको छैन भने गण्डकी मेडिकल कलेजको बिषयमा सरकारले आफ्नै निर्देशनको अवज्ञा हुँदा समेत चासो देखाएको छैन । बिद्यार्थीले मेडिकल कलेजका माफियासँग सरकार झुकेको आरोप लगाउँदै शिक्षा मन्त्रीकै राजीनामा समेत मागेका थिए ।