बर्षाको बितन्डा: पोखरा बागलुङ सडक खण्ड पहिरोले अवरुद्ध, अछाममा नदीले बगाउँदा एककाे मृत्यु

पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा बागलुङ सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । सोमबार साँझ  देखि परेको अविरल बर्षाका कारण पहिरो आउँदा बिहान ३ बजेदेखि सडकमा आवतजावत बन्द भएको हो ।
सडक खुलाउने प्रयास भैरहेको लोकमार्ग आयोजना कार्यलय पर्वतले जानकारी दिएको छ । कास्किको नयाँपुल, पर्वतको भ्याप्लेखोला र अर्मादिमा पहिरो झरेको छ । भ्याप्लेखोला र अर्मादिको पहिरो पन्छाएपनी नयाँपुलको पहिरो हटाउने काम भैरहेको ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
अहिलेपनी पहिरो हटाउने काम भैरहेको र करिब दुई घण्टामा सडक खुल्ने पौडेलले बताउनुभयो । लोकमार्गको कास्की र पर्वत खण्डमा पहिरोका कारण लामो तथा छोटो दुरि का सवारीसाधन बाटोमै रोकिएका छ्न । पहिरोले बिधुतको पोल ढलेको हुनाले पर्वत, बागलुङ र म्याग्दिमा बिहानैदेखी बिधुत समेत अबरुद्ध छ ।

अछाममा नदीले बगाउँदा एककाे मृत्यु

अछाममा बुढीगंगा नदीले बगाउँदा एक जनाकाे ज्यान गएकाे छ । जिल्लाकाे साँफेबगर नगरपालिका वडा नम्बर ४ का ५८ बर्षिय मीनबहादुर कुँवरकाे नदीमा नुहाउने क्रममा बगेर ज्यान गएको हाे ।
साेमबार दिउसाे नदीकाे पक्की पुल नजिक नुहाईरहेका कुँवरलाई नदीले बगाएकाे थियाे । उद्दारका लागि प्रहरी र स्थानीयले प्रयास गरेपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा यस क्षेत्रमा निरन्तर वर्षा भएका कारण बुढीगंगा नदीमा पानीको बहाब समेत उच्च रहेकाले बचाउन नसकिएको अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताउनुभयो ।

कुँवरकाे शव करिब २ किलाेमिटर टाढा वैद्यनाथ क्षेत्रमा फेला परेकाे थियाे । ईलाका प्रहरी कार्यालय साँफेबगर र स्थानीयले शव फेला पारेका प्रहरी निरिक्षक नरपति भट्टले बताउनुभयो ।