चितवनमा डेङ्गु हाल सम्मकै उच्च, ८३५ सङ्क्रमित, दुईको मृत्यु, कसरी बच्ने डेंगुको संक्रमणबाट ?

चितवन । जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार दुई हजार ४२६ जनाको रगतको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । यो सङ्ख्या हाल सम्मकै उच्च हो ।

कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७/०६८ मा तीन हजार २९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ७३९ जनामा सङ्क्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०/०७१ मा ३७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेङ्गु देखिएको होे ।

यस्तै आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेङ्गु फेला परेको थियो । सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१/०७२ मा ११९, ०७२/०७३ मा ८५, ०६८/०६९ मा ६८, ०७४/०७५ मा ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

आर्थिक वर्ष २०६९/०७० मा ५२ जनामा डेङ्गु देखिएको थियो भने गत आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेङ्गु परीक्षणमा ३१ जनामा देखिएको थियो । हरेक तीन/तीन वर्षमा सङ्क्रमण बढेको देखिन्छ । केसीका अनुसार यस वर्ष सङ्ख्या अत्यधिक बढेर गएको छ । जिल्लाका अधिकांश अस्पताल डेङ्गुका बिरामीले भरिएका छन् । नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको डेङ्गुका कारण मृत्यु भएको थियो ।

कसरी बच्ने डेंगुको संक्रमणबाट ?

यस्तो अवस्थामा उच्च सर्तकता अपनाउन चिकित्सकहरूले सल्लाह दिएका छन् ।

जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले डेंगुबाट सतर्क बन्न आग्रह गर्दै आतंकित नहुन अपील गरेका छन् ।

उनले भनेका छन्, ‘आजभोलि डेंगुको आतंक निकै बढेको छ, खास गरेर बालबालिकालाई जुनसुकै ज्वरो आएपनि डेंगु हो, यसको उपचार छैन, डेंगुले मृत्यु नै हुन्छ भनेर अभिभावक धेरै नै पेनिक (Panic) भएको पाइन्छ ।’

‘डेंगुको निको हुने दर राम्रो मानिन्छ’, उनले भनेका छन्, ‘डेंगु ज्वरोले १–२ हप्तासम्म निकै गाह्रो बनाउँछ । कसैलाई थप केही हप्ता पनि लाग्न सक्छ ।’

‘डेंगुको मृत्यु दर निकै कम छ । शुरुमा डेंगुको निदान गरेर उपचार गरेमा एक प्रतिशत मृत्यु दर छ’, उनले भनेका छन्, ‘त्यस्तै रक्ताश्रावजन्य डेंगुको समयमै उपचार गरे मृत्यु दर २ प्रशित छ । रक्तश्रावजन्य डेंगुलाई उपचार नगरे यसको मृत्युदर २० देखि ४० प्रतिशत छ ।’

डा.पाण्डेले सुझाव दिँदै भनेका छन्, ‘अचानक ठूलो ज्वरो आएमा, टाउको धेरै दुखेमा, आँखाको पछाडि धेरै दुखेमा, मांशपेशी र जोर्नी धेरै दुखेमा, शरीरमा बिमिरा आएमा, नाक र मुख कतैबाट रगत आएमा, वाकवाकी लागेमा र वान्ता भएमा तथा निकै बिसञ्चो अनुभव भएमा तुरुन्त डेंगुको परोक्षण गरौँ ।’

‘डेंगु ज्वरो भए र नभएको १–२ दिन मै थाहा हुन्छ । डेंगु सेरोलोजी जाँच गर्दा सुरुमा Ns1 Antigen पोजिटिभ देखिन्छ’, उनले भनेका छन्, ‘IgM Antibody tyf IgG Antibody पोजिटिभ देखिन्छ । प्लेत्लेट्स घट्दै जान्छ । Platelets जति घट्यो, त्यति नै खतरा हुन्छ, अस्पताल भर्ना हुनुपर्ने हुन्छ । तसर्थ नियमित प्लेट्लेट्स जांच गर्नुपर्छ । प्लेट्लेट्स जांच सस्तो छ । रु. १०० पनि पर्दैन ।’

‘जनस्वास्थ्य प्रयोगशाला टेकुमा Blood CBC र डेंगु सेरोलोजी जाँच रु. ६५० मा हुन्छ’, डा.पाण्डेले भनेका छन्, ‘निजी अस्पतालमा यो जाँच महँगो छ । उपत्यका बाहिर पनि सराकरी ल्याबमा जाँच गर्दा खर्च कम हुन्छ ।’

‘डेंगुको औषधि छैन । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि र जलबियोजन कम गर्न प्रशस्त झोलिलो खाना खाने, आराम गर्ने तथा केही गाह्रो अनुभव भएमा अस्पताल भर्ना हुनुपर्दछ’, उनले भनेका छन् ।