प्रधानमन्त्री केपी शर्मा ओली उपचार गरेर स्वदेश फर्किए

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् ।

थाइ एयरवेजको विमानबाट उनी स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा,  राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना,  उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत मन्त्रीहरुले विमानस्थलमा स्वागत गरे ।

प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् । यसअघि अघिल्लोपटक पनि उपचार गरेर स्वदेश फर्किदा प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएका थिएनन् । तर, त्यसको राति उनको सचिवालयबाट प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी गराइएको थियो ।

प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो ।

प्रधानमन्त्रीलाई भेट्न गएका सत्तारूढ दल नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडल पनि सिंगापुर पुगेका थिए । उनीहरु पनि ओलीसँगै फर्किएका छन् ।