नेपालका एटीएम यूरोपबाटै ह्याक, बाँकी दुई जना ह्याकर अझै फरार

काठमाडौँ । नेपाली बैंकको एटीएम ह्याक गरी करिब दुई करोड लुटने चिनियाँ टोलीले यूरोपबाट काम गरिरहेको खुलेको छ ।

शनिबार मध्यराति काठमाडाैं प्रहरी परिसर, टेकुले चलाएको अपरेशनका क्रममा पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएका हुन् ।

साथै, आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ मूलका ३६ वर्षे फ्रान्सेली नागरिक युवा सु लुस ली पक्राउ परेसँगै यसको थप तथ्य खुलेको छ ।

मलेसिया भाग्ने तयारीमा रहेका उनको मलेसियन एयर लाइन्सको बोर्डिङ पास समेत परिसरको टोलीले बरामद गरेको छ । उनको फ्रेन्च राहदानी नम्बर १८ एके ९०२८० रहेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार स्पेनमा बसेर परिचालन गरे पनि ती व्यक्ति चिनियाँ नागरिक नै हुन् । शुक्रबार साँझ एयर चाइनाको उडानमार्फत काठमाडौं ओर्लिएका झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ नाइकेले भाडामा प्रयोग गरेका व्यक्तिमात्रै भएको अनुसन्धानका क्रममा खुलेको छ ।

पक्राउ परेकाहरुमध्ये अधिकांश पहिलो पटक नेपाल आएका हुन् । योजनाकारसँग भएको सहमतिअनुरुप उनीहरु शनिबार एटीएमबाट लाखौं निकालेपछि माया मनोहर बुटिक होटलबाट अन्यत्र सर्ने योजनामा थिए । आइतबार फर्किनलाई उनीहरुको टिकट थियो ।

स्रोतका अनुसार होटलमा बस्ने व्यवस्था पनि विदेशबाटै अनलाइन सिस्टमको प्रयोग गरेर भएको थियो ।

पक्राउ परेकामध्ये लियांग प्रविधिमा समेत दख्खल राख्छन् । उनले नै स्पेनमा रहेका ‘मास्टरमाइन्ड’सँग ल्यापटपमार्फत कम्युनिकेट गर्ने गरेको देखिएको अनुसन्धान अधिकृतले बताएका छन् ।

यूरोपेली देशकै पासपोर्ट बोक्नुले पनि उनीहरूले ह्याकको मुख्य केन्द्र युरोपलाई बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । रकम झिक्ने काममा संलग्न दुई जना अझैँ फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई अपरेशन सफल बनाएर फर्किए प्रतिव्यक्ति १० हजार युआन दिने सहमति भएको थियो । सहमतिअनुसार नेपालबाट लुटिएको रकमको १० प्रतिशत कमिसन पनि दिने भनिएको थियो ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार ह्याकरले बैंकिङ प्रणालीको स्वीचमै आक्रमण गरेर एक करोड ७६ लाख रुपैयाँ झिकेका थिए । यो रकम सर्वसाधारणको निक्षेपबाट भने नझिकिएको अधिकारीहरुको दाबी छ ।

प्रहरीले भने एक करोड २६ लाख २९ हजार रुपैयाँ मात्रै बरामद गरेको छ । बाँकी रकम फरार रहेका दुई जनासँग हुनसक्ने आशंका गरिएको छ ।