आज तीज पर्व नाचगान र पूजा उपासना गरेर मनाईंदै,यस्तो छ तीजको महत्व

काठमाडाैं । आज हरितालिका तीज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ ।

पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ । आज व्रत बसी शिव पार्वतीको पूजाआजा गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

आइतबार राति मीठा एवं आडिला परिकार दरका रुपमा खाएका व्रतको पूर्व तयारी गरेका व्रतालु आज विहानै पूजाआजाका लागि शिव मन्दिरमा पुगेका हुन् ।

दाजुभाइले दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्छन् । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् ।

तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्ने चलन छ । पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको भन्दै सस्कृतिविदले चिन्ता ब्यक्त गर्ने गरेका छन् ।

आज पशुपतिनाथ मन्दिरमा पुगेका भक्तजनका लागि आज चारवटा मार्गको व्यवस्था गरिएको छ । दर्शनार्थीले छिटो मन्दिरमा दर्शन गर्न सकुन् भनेर बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन् ।

  • यस्ता छन् तीजको महत्व

  • उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे

  • रातो डोली सजाएर लिन आँउछ अरे

‘अरे’ अर्थात् एउटा मिठो संभावनालाई व्यक्त गर्ने शब्द, तिजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसै गरि तिजमा यस्तै सम्भावना, रसिक अनि प्रेमील भाकाहरुलाई भाका हाल्दै अनि कम्मर मर्काउँदै आज धेरै चेलीहरु गोलबद्ध भएर उत्रिएका छन्, आ -आ फ्ना रंगमञ्चमा ।
पती अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरुको अटल सौभाग्य र सदासर्वदा भरिभराउ कोखकालागि भगवान स्वंयम धर्तीमा झर्छन जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ, निराहार र निर्जला व्रत बस्ने चलनलाई भने आज हामी यस आलेखको शुरुमै परिमार्जन गरेर आफ्नो स्वास्थ सुहाउँदो तवरले सहज र सरल व्रत बस्ने परामर्श दिन चाहन्छौं ।
पार्वतीले शिवजी वरका रुपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वाश रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्दछ ।
तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन् । हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् । अब थोरै कुरा गरौं तीजका गीतहरुको, परम्परागत शैलीका मौलिक गीतहरुको साटो अश्लिल अनि दुईअर्थलाग्ने गीतहरुको प्रयोगले तीजको माहौल दुषित हुन भनें कृपया नदिनुहोला ।
रत्यौलीका गीत र शब्दहरु अनि तीजका भाकाहरु अवश्य फरक छन् तथापि सस्तो लोकप्रियताका लागि रत्यौलीका शब्दहरुमा अझ श्रोता, दर्शक यस्तै मन पराउँछन् भन्दै तथाकथित मसला हालेर तीजकालागि तयार गरिनुले तीजको गहनतालाई हलुका त बनाएको छैन ? सोचनीय छ । चाहे लाउडस्पीकरमा घन्किने गीत हुन या थपडीका आवाज, तीजमा संगीतको महत्व अत्यन्त धेरै हुन्छ, त्यो माैलिक होस्, नेपाली माटोको सुगन्ध दिने खालको होस् ।
रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, वुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहाैलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको संझना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ ।
समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन् ।
विभिन्न टेलिभिजन च्यानल र रेडियोहरुले आजको दिन विभिन्न ठाउँहरूमा अनेक कार्यक्रमहरू गरी आयोजना हुने तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गर्ने गर्दछन् ।
रातो रङ्ग र हर्षको प्रवाह आज नेपाली सञ्चार माध्यमहरुले पनि गर्नेछन । पत्रिकाहरु पनि तीज विशेष रौनकयूक्त तस्बिर र शब्द सामाग्रीले भरिएको हुनेछन । सनातन हिन्दू महिला लगायत अधिकांंश नेपाली महिला हृदय आज पूर्णत् तीजको रङ्गमा रङ्गीएको छ ।
‘तीज’लाई महिलाहरुको चाड भनेर निकै लेप लगाइएपनि पुरुष र महिलाहरु दुवैकालागि यो चाड एकदमै महत्वपूर्ण छ । महिलाहरुले जसरी आफ्नो श्रीमान र भविष्यमा हुने श्रीमानकोलागि व्रत बस्ने तीजजस्तो चाडको अवसर प्रदान गरिएको छ तर पुरुषहरुकालागि भने महिलाप्रति समर्पित यस्तो कुनै व्रत या चाडको इतिहास छैन ।
तथापि पुरुषहरुले आफ्नो जिम्मेवारी वहन गरेर महिलाहरुप्रति थप जिम्मेवार, माया र सद्भाव बढाएर आफ्नो स्नेह बाँचुञ्जेल प्रवाह गर्न सक्दछन ।
आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।
‘तीज’ शब्द नामारकण कसरी भयो भन्ने कुरामा हामीले थारै अध्ययन गर्यौं । जसमा प्राप्त जानकारीलाई यहाँहरूमाझ राख्दैछाैं । तीज बर्षायाममा निस्कने एकप्रकारको किरा भएको र बर्षायामको उत्तरार्धमा भएको यो चाडको नामाकरणको कथा यसै बर्षे किरासंग समबन्धित भएको पनि पायौं ।
अर्कोतर्फ तीहार, त्योहार भन्नाले उत्कर्षको चाडका रुपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्योहारबाट तीजको स्वरुपमा आएको कुराहरु पनि पायौं ।
बास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउँ भनेर गरेको १०८ बर्षको तपस्याको याद दिलाउने गर्दछ । अहिले आएर वरवधुले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरु तुहीएर जाने हामीसबैलाई थाहा छ । माता पार्वतीको असिम कृपाले प्रेम अनि प्रेमीहरुको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।
तीजको साँझ १०८ सुतेवत्ति दियो प्रज्जवलन गरिन्छ र ती दिपशिखाहरु रातभरिनै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्दछ । पति पत्नि, भावि पति, पत्नि अनि सम्पूर्ण परिवारबिचको माया सद्भाव बढाउन तीज सफल होस् ।
सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिकासाथ अघि बढाउन सकोस्, सबैको जय होस । यसपालाको तीजको कृपाले बिग्रिएका सम्बन्ध सप्रियोस्, भावनाहरु जोडिउन्, हरेक नेपाली जोडीहरुको हजारौं जोर सपनाका थानहरु पुरा हुन् ।
अनि पुरुष मीत्रलाई सानो प्रश्न जाँदाजाँदै, आफ्नो लागि व्रत बस्ने धर्मपत्नी या प्रेमीकालाई के उपहार दिने सोच्नुभएके छ ? कसैले आफ्नोलागि व्रत बस्ने चाल पाउनुभएको छ भने साँझमा एक कल फोन या भेट गर्नाले व्रत र प्रेम दुबैको सम्मान हुनेछ है ।
अनि सम्पूर्ण महिलाबृन्दहरु, चाहे तपाई माइतीमा हुनुहुन्छ या हुनुहुन्न या विदेशमा तीजको स्वदेशी यादहरु सम्झना गर्दै हुनुहुन्छ हाम्रो पात्रोको तर्फबाट यो पावन चाडको शुभकामना ।
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।