गौहत्यामा संलग्न जोसुकै भएपनि हदैसम्मको कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौंँ, भदौ १५ । बाँकेको नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएको घटनामा संलग्न जोसुकै भएपनि हदैसम्मको कारवाही गर्नको लागि गृह मन्त्रालयले निर्देशन दिएको छ ।

शनिबार गृह प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ती जारि गर्दै उक्त घटनाको छानविनका लागि उपसचिव सागरमणी पाठकको संयोजकत्वमा सुरक्षा अधिकारीसहितको चार सदस्यीय छानविन समिति समेत गठन भएको जानकारी दिएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये २४ गाईगोरु वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवास्थित जंगलमा मृत फेला परेका थिए । घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाईगोरु ढुवानीमा प्रयोग भएका ४ वटा ट्रक बरामद गरेको छ भने ट्रक चालकलाई पक्राउ गरेर प्रहरी नियन्त्रणमा राखेको छ ।

‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृह मन्त्रालय प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारीको लागि अनुुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।