के राप्रपाले गाई मारेको हो? नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धबल शमशेर राणा माथि औंला ठडियो

काठमाडौं । गाई, राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह । नेपालको राष्ट्रि जनावरलाई चुनाव चिन्ह् बनाउन दिन नहुने विषय उठ्दा राप्रपाले मानेन । उसले गाई हिन्दुहरुले भगवानको रुपमा समेत मानेको आधारमा चुनाव चिन्ह छाड्न मानेन । देशलाई हिन्दु अधिराज्य बनाउने र राजसंस्था पुर्नस्थापित गर्ने उसको राजनीतिक नीति रहेको छ । तर, राप्रपामाथि अहिले गम्भीर आरोप लागेको छ–उसले योजनावद्ध तरिकाले गोबध गर्यो ।

के राप्रपाले गोबध गरेको हो ? सरकार र केही प्रभावशाली नेताहरुले राप्रपामाथि औंला ठड्याएका छन् । दैलेखको श्रीस्थानका किसानलाई वितरण गर्न भनेर लगिएका ३७० गाईगोरुमध्ये १८ गाई र ६ वटा गाई सुर्खेत वीरेन्द्रनगर राजमार्गको करिब २० मिटर तल ब्युरेनी खोलामा मृत भेटिएको घटनामा नेपालगञ्ज उपमहानगरपालिका मुछियो । उपमहानगरपालिकाको मेयर धबल शमशेर राणा छन् । राप्रपा नेता समेत रहेका धवल त्यहाँका हस्ती हुन् । उनीमाथि औंला ठडिएपछि राप्रपा समेत मुछिएको हो ।

घटनाका सम्बन्धमा गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ । १५ दिनभित्र छानविन पूरा गर्न भनिएको गृहले जनाएको छ । तर, गाईगोरु गडीमा हालेर दैलेख लगिंदा बीच बाटोमा भीरबाट गुल्टाइएको विषय खुलेपछि नेपालगञ्ज उपमहानगरपालिका मात्र नभई राप्रपा विवादमा परेको हो । ‘कतै राप्रपाले धार्मिक दंगा भड्काउन षड्यन्त्र त गरेन ?’ यो प्रश्न उठाउनेहरु समेत छन् ।

समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले राप्रपाले गाई मारेर पाखण्ड देखाएको गम्भीर आरोप लगाए । शनिबार सार्वजनिक रुपमै गौबधमा राप्रपाको संलग्ननता रहेको आरोप लगाएका हुन् । उनको आरोपलाई राप्रपाले गम्भीर रुपमा लिएको जनाएको छ । राप्रपा सहायक प्रवक्ता मोहन श्रेष्ठले हिन्दु र गाईको कुनै माया नभएका बाबुराम भट्टराईलाई कहाँबाट माया पलायो भनी प्रश्न गरे । उनले रिपोर्टर्स नेपालसँग भने, ‘यो बाबुरामजीको हतास मानसिकता हो । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले त्यस्तो बोल्न सुहाउँछ ?’

राप्रपा सस्तो लोकप्रीयताका लागि आस्थामाथि प्रहार हुने षड्यन्त्रमा कहिले संलग्न नहुने भन्दै जो यस्तै गतिविधिमा संलग्न रहँदै आएको छ उसैले आरोप लगाउने गरेको श्रेष्ठको भनाई थियो । उनले भने, ‘जस्तोसुकै षड्यन्त्र असफल बनाएर भएपनि हिन्दु अधिराज्य र राजसंस्था स्थापित गरेर छाड्छौं ।’