
काठमाडौं । पारिवारिक भ्रमणमा बैंककमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । शाहको बैंकक बसाईलाई नेपाल मात्रै नभएर विश्भरि छरिएर रहेका नेपालीहरुले बढो महत्वका साथ हेरिरहेका छन् ।
२४ साउनको दिउँसो थाइ एयरवेजको विमानबाट शाह थाइल्यान्ड प्रस्थान गरेका थिए । पछिल्लो समय उनको थाइल्यान्ड आवतजावत बाक्लिएको छ । त्यहाँबाट शक्तिकेन्द्रसँग सम्पर्क बढाएको चर्चा छ । नातिनीहरु बैंकमा अध्ययन गरिरहेकाले उनी बैंकक गइरहेको बताइन्छ । कतिपयले स्वास्थ्योपचारका लागि आवत्जावत् बाक्लो बनाएको बताइरहेका छन् । तर, उनले त्यहाँबाट राजनीतिक सक्रियता बढाएको सूचना सत्तारुढ दलका नेताहरुसम्म पुगेको छ ।
पूर्वराजा शाह थाईल्याण्ड गएको दुई दिन नबित्दै नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइराला पनि सपरिवार थाईल्याण्ड प्रस्थान गरेको समाचारले विशेष चर्चा पाएको थियो । कोइरालाले पूर्वराजा शाहसँग भेटवार्ता गरेको स्रोतको दाबी छ । तर, कोइरालाले भने यसबारेमा अहिलेसम्म कुनै खण्डनसमेत गरेका छैनन् । एक महिनाको अन्तरालमा पूर्वराजा शाह पुनः थाइल्यान्ड उडेका हुन् । यसअघि असारमा उनी बैंकक पुगेका थिए ।