टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ । भर्खरै मात्र हिरासतबाट निस्किएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध फेरी अर्को मुद्धा दर्ता भएको छ ।

न्यूज २४ मा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका रवि विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले प्रेस काउन्सिलमा मुद्धा दर्ता गरेका हुन् ।

पत्रकार भण्डारीले प्रेस काउन्सिल नेपालमा बुधबार उजुरी दर्ता गरेका हुन् । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

लामिछानेले टेलिभिजन कार्यक्रममा आफूलाई पाहुनाका रुपमा बोलाएर संहिता विपरीत प्रस्तुत भएको आरोप उजुरीमा उल्लेख गरिएको छ ।

लामिछानेले पत्रकारिताको विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको ‘नग्न उल्लंघन’ गर्दै आफूमाथि अन्याय गरेको र पत्रकारिता पेशालाई कलंकित पार्ने गरी काम गरेको दाबी गर्दै भण्डारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनी १० दिन प्रहरी हिरासतमा बसेरे अदालतको आदेशपछि सोमबार हिरासतमुक्त भएका थिए । लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की सोमबार रिहाई भएका हुन् ।

लामिछाने पाँच लाख र कँडेल तीन लाख धरौटीमा रिहाई भएका थिए । कार्की भने साधारण तारेखमा रिहाई भएकी हुन् । लामिछानेलाई चितवन जिल्ला अदालतले आगामी असोज ५ गते तारेखमा बोलाएको छ ।