नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न, के-के भयाे सहमति र समीक्षा ?

काठमाडाैँ। पारस्परिक साझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ ।

बैठकमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै सम्पर्क सञ्जाल विस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत क्षेत्रका साथै संस्कृति र शिक्षामा केन्द्रित रहेर छलफल गरेका थिए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको सहअध्यक्षता बैठक भएको थियो ।

बितेका दुई वर्षमा दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणपछि नेपाल–भारत सम्बन्धका सबै पक्षले गति लिएकामा संयुक्त आयोगले खुशी व्यक्त गरेको छ ।

बैठकमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशबीच सहयोग आदानप्रदान गर्नेबारेमा पनि गहन छलफल भएको थियो । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पदार्थको पाइपलाइन, हुलाकी राजमार्गका चारखण्ड निर्माणमा भएको प्रगति, भूकम्पपछि नुवाकोट र गोरखा जिल्लामा सर्वसाधारणका आवास निर्माण सम्पन्न भएकामा आयोगको बैठकमा प्रशन्नता प्रकट भएको थियो । साथै बैठकमा जयनगर–जनकपुर, जोगमनी –विराटनगर, सीमापार रेल परियोजना र विराटनगरमा एकीकृत जाँचचौकी निर्माणमा प्राप्त उपलब्धिको समीक्षा भएको थियो ।

भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजनालाई द्रुत गतिमा अघि बढाउन दुवै देशले सहमति जनाएका छन् । सीमा क्षेत्रमा रहेका जनताका निम्ति डुबान एक गम्भीर समस्याका रुपमा रहेको स्वीकार गर्दै संयुक्त आयोगले पानीको प्राकृतिक बहाबमा अवरोध र उपयुक्त निकासको व्यवस्था नहुँदा डुबान समस्यालाई सम्बोधन गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रका डुबान प्रभावित भेगमा दुवै देशको संयुक्त प्राविधिक टोलीले दिएका सुझाव कार्यान्वयन गर्न दुवै देश सहमत भएका छन् ।