निर्यात भन्दा आयात १५ गुणाले बढी, आयात–निर्यातबीचको खाडलले देशको अर्थतन्त्र कस्तो छ ?

काठमाण्डौ । हरेक पटक बन्ने नयाँ सरकार मुलुकलाई उत्पादनमा आत्मानिर्भर बनाउँदै आर्थिक रुपमा बलियो बनाउने दावी गर्छ । यहि नारा दुई तिहाइ मतसहितको केपी शर्मा ओली नेतृत्वको सरकारले पनि लिएको छ । तर, आर्थिक सुचकांक र आयातको स्थिति हेर्दा जो कोहिलाई टिठ लागेर आउँछ । तथ्यांकले के भन्छ भने मुलुक झन झन परनिर्भर बन्दै गएको छ । हरेक वस्तु र सामान आयात गर्ने क्रम बढेको छ ।

कृषि प्रधान मुलुकमा चामल, गहुँ, मकै, कोदो, फापरलगायतका अन्नको आयातमा मुलुकको अर्बौ रुपैयाँ बाहिरिएको छ । त्यति मात्रै होइन, जलस्रोतको दोस्रो धनी देशमा विदेशबाट करोडौं रुपैयाँको पानी किनिएको छ । नेपालमै उत्पादन गर्न सकिने खाध्य पदार्थमा नै परनिर्भर बनेको हाम्रो देशमा विलासी बस्तुको आयात थेग्न नसक्ने गरी बढेको छ ।

समग्रमा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख ४३ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । स्वदेशमै उत्पादन गर्न सकिने बस्तु तथा सेवामा सरकारले खासै ध्यान नदिँदा आयातको अवस्था चिन्ताजनक बन्दै गएको छ । स्वदेशी उत्पादन झनै खस्किनु, बिलासिताको सामानमा मोह बढ्नु र बजारको राम्रो ब्यवस्थापनमा पनि ध्यान नदिनु जस्ता कारणले नै व्यापार घाटा चुलिएको अर्थविद् प्रा. डा. चन्द्रमणि अधिकारी बताउँछन् ।

निर्यातभन्दा आयात करिब १५ गुणाले बढेसँगै नेपालको व्यापार घाटा बजेट भन्दा बढि भएको छ । आर्थिक २०७५÷७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार पुगेको छ । जुन गत वर्ष भन्दा १३.५५ प्रतिशतले बढि हो । २०७४÷७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो । अर्थविद् अधिकारीका अनुसार न्यून उत्पादनसँगै विलासिताका वस्तुको आयात वृद्धिले व्यापार घाटा बढाउन सघाएको छ ।

मुलुकभित्र उत्पादनसँगै उत्पादकत्व वृद्धि हुन सकेको छैन । कृषि क्षेत्रको जनशक्तिसमेत पलायन हुँदै गएको छ । यसले मुलुक कृषिजन्य वस्तुमा समेत परनिर्भर हुनुपरेको छ । नेपालको अवस्था धेरै बिग्रँदै गएको २०५५÷५६ सालदेखि २०६२÷६३ सालसम्म हो । २०५२ सालदेखि देश युद्धमा गयो, देशमा असुरक्षित महसुस गरेर धेरै युवा विदेश पलायन भए । देशमा उद्योग कलकारखाना बन्द हुँदा रोजगारी थिएन ।

जसले गर्दा देशको अर्थतन्त्र पनि ओरालो लाग्दै गयो । २०६२÷०६३ सालपछि युद्ध सकिएर देश शान्तितर्फ अग्रसर भइरहदा सरकारले त्यतिबेला नै विदेशमा गएका युवालाई स्वदेश फर्काउने र देशमै फेरि आर्थिक चहलपहल बढाउन नसक्दा अलिहेको अवस्था देखा परेको हो ।