काठमाडाैंका चलचित्र घरहरू मनाेरन्जन शुल्क बुझाउन अटेर गर्दै

काठमाडाैं, ३ भदाै । काठमाडाैंका चलचित्र घरहरूले मनोरञ्जन शुल्कबापतको कर नबुझाएपछि काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्मको सूचना दिएर सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

महानगरभित्र ४२ वटा सिनेमा घर छन् । जसमध्ये गएको वर्षमा ४ वटा हलले मात्र कर तिरेको महानगरले जनाएको छ ।

राजस्व विभागका प्रमुख नुरनिधि न्यौपाने भन्छन्, ‘टिकट बिक्रीसँगै संकलन भएको शुल्क पनि महानगरमा नबुझाएपछि यसमा हामी गम्भीर भएका हौं।’

उनका अनुसार गएको वर्ष चारवटा हलले मनोरञ्जनबापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन करबापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनुपर्छ ।