ललितपुर परिसर प्रमूख बन्न ५ एसएसपीको लिगलिगे दौड !

काठमाडौं । ललितपुर प्रहरी परिसर प्रमूख रवीन्द्र धानुकको एक बर्ष सकिएर रिक्त हुन लागेको ठाउँमा जान ५ जना एसएसपीको लिगलिगे दौड सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केही एसएसपीको सरुवाको तयारी थालेका बेला ललितपुरमा धेरै जना केन्द्रित भएका हुन् ।

प्रहरी प्रमूख (आइजी) सर्वेन्द्र खनालले ललितपुर प्रहरीको नेतृत्व एसएसपी उमेशराज जोशीलाई दिने तयारी गरेको बताइए पनि गृहसचिव प्रेमकुमार राई, गृहमन्त्रीसँग पनि लविङ गराउने कम छैनन् । गृहसचिव राईले एसएसपी टेकप्रसाद राइलाई ललितपुर पठाउने लविङ गरेका छन् ।

बिमानस्थल सुरक्षा कार्यालयमा काम गरी विदा बसेका एसएसपी सन्दीप भण्डारी पनि ललितपुर नै ताकिरहेका छन् । महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य र श्यामलाल ज्ञवालीको दौड पनि ललितपुर प्रमूख बन्नेमा छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी बसन्तकुमार पन्तको कार्यकाल पूरा भइसकेकोले पन्तको ठाउँमा एसएसपी ज्ञवाली जानसक्ने अनुमान गरिएको छ । एसएसपी शरद खत्रीले अवकाश पाएपछी संघीय प्रहरी इकाइ कार्यालय धरान अहिले नेतृत्वबिहिन छ ।

त्यस्तै संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनी, तालीम केन्द्र दुधौली, बुटवल, नेपालगन्ज र दिपायल लगायतका स्थानको नेतृत्व परिवर्तन हुँदैछ ।

त्यसैगरी प्रहरी मुख्यालयले एसपी र डिएसपीहरुको सरुवाको तयारी थालेको छ । रुपन्देहीको प्रमुख हुन केही एसपीहरुको दौडधुप शुरु भएको बुझिएको छ । गतबर्ष अख्तियारबाट रुपन्देही गएका एसपी हृदय थापाको एकबर्षे कार्यकाल पूरा भइसकेको छ । रुपन्देही जान एसपीहरु नवराज अधिकारी, बिश्वमणी पोखरेल, कमल थापाको चर्को लबिङ छ ।

डिएसपी प्रमुख रहने उपत्यकाको महाराजगन्ज, कालिमाटी र बालाजु वृत्तको पनि नेतृत्व परिवर्तन हुँदैछ । ट्राफिक महाशाखामा कार्यरत डिएसपी प्रभु ढकाल पनि सोलुखुम्बु जान चाहेको स्रोत बताउँछ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेल युएन मिसन जाने भएपछि इटहरीको प्रमूखका लागि पनि दौड जारी छ ।